
प्रा.डा.हेमनाथ पौडेल नेपाली भाषा, साहित्य, संस्कृति एवं शिक्षा र सामाजिक क्षेत्रका बहुआयामिक व्यक्तित्व हुन् । कविता, कथा, निबन्ध, समालोचना आदि सबै विधामा कलम चलाए पनि उनको लेखनको मूल विधाचाहिँ समालोचना नै हो । त्यसमा पनि उनी मार्क्सवादी समालोचकका रूपमा प्रतिष्ठित छन् । लेखन र सम्पादनका समेत गरी दुई दर्जनभन्दा बढी पुस्तकाकार कृति र कैयौँ दर्जन फुटकर रचनाका स्रष्टा पौडेल प्राज्ञिक क्षेत्रमा सुपरिचित व्यक्तित्व हुन् । पौडेलको जन्म पिता पशुपति पौडेल र आमा कृष्णमायाका कोखबाट विक्रम संवत् २०१७ असार १३ गते तेह्रथुमको ह्वाकू–५ (हाल आठराई गाउँपालिका–३) मा भएको हो । उनले संस्कृतमा आचार्य र नेपालीमा स्नातकोत्तर हुँदै विद्यावारिधिसम्मको शिक्षा हासिल गरेका छन् ।
पौडेलका ‘कृष्णमणि साहित्य पुरस्कारद्वारा सम्मानित स्रष्टाहरू’ २०६४), ‘भाषा साहित्यका दुई हस्ती’ (२०६४), ‘प्रगतिवादी दृष्टिमा कवि र कविता’ (२०६५), ‘सन्दर्भपरक समालोचना’ (२०७०), ‘भाषा विज्ञान र नेपालका भाषाहरू’ (२०७०), ‘प्रगतिवाद र कवितासम्बन्धी मान्यता’ (२०७५), ‘कविता समालोचना’ (२०७५), ‘लिम्बू जातिमा प्रचलित लोकगीतिनृत्य धाननाच’ (२०७७), ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ (२०७८) आदि प्रकाशित मुख्य कृति हुन् भने सृजना र समालोचनाका गरी उनका आधा दर्जन कृति प्रकाशनोन्मुख अवस्थामा छन् । यसअतिरिक्त उनका संकलन हुन बाँकी थुप्रै लेख पत्रपत्रिकामा प्रकाशित छन् । उनले दर्जनभन्दा बढी कृति सम्पादन पनि गरेका छन् । ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ (२०७९) का विशेष सम्पादकसमेतरहेका पौडेल भाषा–साहित्य र व्याकरण क्षेत्रका आधिकारिक व्यक्तित्व मानिन्छन् ।
उनले वि.सं. २०७५ पुस १ गतेदेखि २०७९ मंसिरसम्म चार वर्ष नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य र निमित्त सदस्य सचिव भई माग गरेका छन् । यस क्रममा पौडेलले भाषासाहित्य र शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेबापत राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका विभिन्न मानसम्मान, पदवी र पुरस्कार प्राप्त गरेका छन् । उनी २०७९ मा राष्ट्रपतिद्वारा सुप्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएका छन् भने २०७२ मा नेपाल सरकारको संस्कृति मन्त्रालयले प्रदान गरेको महाकवि देवकोटा पुरस्कार, २०७३ को पारिजात सृजनशील पुरस्कार प्राप्त गर्नुका साथै अनेसास, वासिङटन डीसीले उनलाई सम्मान गरेको छ भने २०७६ मा विकिपोजिया इन्साइक्लोपिडिया इटलीले मानार्थ अध्यक्षता प्रदान गरेको छ । यसका अतिरिक्त उनी दर्जनभन्दा बढी विभिन्न संघसंस्थाद्वारा सम्मानित र पुरस्कृत भएका छन् । जन्मभूमि तेह्रथुम आठराईले माध्यमिक तहको स्थानीय पाठ्यक्रममा उनको जीवनी राखेर पठनपाठन गराई सम्मान गरेको छ ।
प्रगतिवादी नेपाली कवितामा विद्यावारिधि गरेका पौडेलको विशेषतः कविता काव्यको अध्ययन र अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको छ । उनका समालोचना अनुसन्धानमूलक, वस्तुवादी एवं विश्लेषणात्मक र वैचारिक रहेका छन् । विषयवस्तुलाई अत्यन्तै सूक्ष्म र मिहिन रूपमा विश्लेषण गरिएका पौडेलका समालोचनामा प्राञ्जल भाषा र प्रस्तुतिको गहन सामर्थ्य देखिन्छ भने उनका सृजना वैचारिक हुनुका साथै विषयवस्तु र शैलीमा सन्तुलन भएका छन् । समकालीन समालोचकमध्ये उनी एक प्रखर व्यक्तित्व मानिन्छन् । प्रस्तुत छ– डा.पौडेलसँग जयराम सापकोटाले लिएको साहित्य–वार्ता ।
यहाँको साहित्य लेखन कहिलेबाट सुरू भएको हो ?
मेरो साहित्य लेखनको सुरूवात विद्यार्थी अवस्थाबाटै भएको हो । म २०३२ सालमा भारतको वृन्दावनमा पढ्थेँ । त्यसबेला केही कविता, कथा र निबन्ध लेखेको थिएँ तर ती सबैले प्रकाशन हुने अवसर पाएनन् । तीमध्ये ‘सरस्वती वन्दना’ शीर्षकको एउटा कविताचाहिँ त्यहाँबाट प्रकाशन हुने हिमज्योति पत्रिकामा त्यहीबेला प्रकाशन भएको थियो । यहीँबाट मेरो सार्वजनिक साहित्यिक यात्राको सुरूवात भयो । त्यसैले औसत साहित्यकारहरूको जस्तै मेरो पनि लेखन र प्रकाशनको सुरूवातचाहिँ कविताबाटै भएको हो । त्यसपछि मैले कथा, निबन्ध र समालोचना लेख्दै आएको छु तर मेरो लेखनको मूल विधा चाहिँ समालोचनानै हो । २०३७ सालमा धरानबाट प्रकाशन हुने पिपल पत्रिकामा मेरो ‘कान्छी पाथी’ कथा प्रकाशन भएको थियो भने २०४३ सालमा काठमाडौँबाट प्रकाशित नेपालभूमि पत्रिकामा मोदनाथ प्रश्रितबारे लेखिएको समालोचना प्रकाशन भएको थियो । मेरा सैद्धान्तिक र व्यावहारिक समालोचनाका तथा निबन्धका गरी दर्जन भन्दा बढी कृति प्रकाशित छन् । मैले सम्पादन गरेका व्याकरण, शब्दकोश र साहित्यिक कृतिसमेत जोड्दा अरू एक दर्जन पुस्तक थप हुन्छन् । अहिले मेरा कविता, कथा र निबन्ध सृजनाका एक/एकओटा सङ्ग्रह र अनुसन्धानात्मक समालोचनाका तीन ओटा कृति प्रकाशनको तयारीमा छन् ।
साहित्यमा लाग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
मैले साहित्यमा लाग्ने प्रेरणा पठनपाठनकै क्रममा प्राप्त गरेको हुँ । सुरूमा वृन्दावनमा र त्यसपछि बनारसमा अध्ययन गर्दा नेपाली विद्यार्थीले गर्ने गरेका साहित्यिक गतिविधि र कार्यक्रमबाट साहित्यमा लाग्ने प्रेरणा प्राप्त भएको हो । वृन्दावनबाट बनारसमा आएपछि राजनीति र साहित्य दुवैसँग गहिरो सम्बन्ध बन्यो । बनारसमा रहँदा विश्व हिन्दू महासंघले आयोजना गरेको भारतस्तरीय संस्कृत श्लोकान्ताक्षरी प्रतियोगितामा म दोस्रो भएको थिएँ । त्यसपछि धरान पढ्न आएपछि त्यसले झनै विकसित हुने मौका पायो र यसपछि त साहित्यिकमात्र होइन– राजनीतिक वैचारिक वातावरण पनि पाइयो अनि म निश्चित उद्देश्यका साथ वैचारिक लेखनमा पनि लागेँ । यही क्रममा २०३७ सालमा धरानमा पढ्दा म क्याम्पस स्तरीय निबन्ध प्रतियोगितामा प्रथम भएको थिएँ । यसरी मैले एउटा कुनै निश्चित व्यक्तिबाट भन्दा पनि राम्रा र असल विचार बोकेका स्रष्टा तथा कृतिबाट प्रभाव ग्रहण गरेको छु ।
लेखन कार्य कसरी अघि बढाउनु भयो ? अहिले के लेख्दै हुनुहुन्छ ?
त्रिभुवन विश्वविद्यालयमा ३३ वर्षसम्म विद्यार्थीलाई नेपाली भाषा र साहित्य पढाइयो । विश्वविद्यालयीय आवश्यकताका अध्ययन र अनुसन्धानका काम पनि गरियो अनि विद्यार्थीलाई पनि गराइयो । यसपछि नेपाल प्रज्ञा–प्रतिष्ठानको काव्य विभाग प्रमुखको जिम्मेवारीमा रहँदा प्राज्ञिक अध्ययन, अनुसन्धान र गोष्ठीमा बढी समय बिताइयो । यही क्रममा मेरा समालोचनाका कृति पनि प्रकाशन हुँदै आएका हुन् । अहिले प्राध्यापन पेसाबाट निवृत्त भइसकेकाले फुर्सद छ । यति बेला केही सृजनात्मक लेखनका साथै मार्क्सवादी सौन्दर्यशास्त्रीय दृष्टिले नेपाली साहित्यको अध्ययन गर्दैछु ।
प्रज्ञाको कुरा गर्दा त्यसबेला तपाईंहरूको टिमले संस्थाको गरिमालाई कायम राखेर ऐतिहासिक काम गरेको थियो तर अहिले त्यो गरिमा कायम छैन भनिन्छ–कारण के हो ?
हाम्रो पालासम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्बन्धित विषयका विज्ञ र क्षमता भएका व्यक्ति नियुक्त भएका थिए । त्यसैले हामी भन्दा अगाडि र हाम्रो पालामा पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका धेरै काम भए । प्रज्ञा–प्रतिष्ठान भनेको भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्र लगायतका नेपाली वाङ्मयका समग्र पक्षमा अध्ययन–अनुसन्धान गर्ने, गराउने राज्यको उच्च प्राज्ञिक थलो हो । राज्यलाई त्यसले प्रज्ञानको आपूर्ति गर्ने गर्दछ । यसका लागि सोहीअनुसार योग्यता पुगेका र क्षमता भएका व्यक्तिको चयन त्यहाँ आवश्यक हुन्छ र मात्र त्यसको गरिमा कायम हुनुका साथै प्राज्ञिक कार्य पनि हुन सक्छ । अहिले सायद त्यसो हुन सकेन । यसले गर्दा त्यहाँ प्राज्ञले गर्नुपर्ने काम नभई उटपट्याङ कामहरू भइरहेका हुन् भन्ने आलोचना भइरहेको छ र प्रज्ञाको गरिमा पनि रहेन भन्ने छ । कारण विषय–विज्ञता र क्षमतालाई नहेरी आफ्नो जात, भूगोल र समूहका मान्छेलाई जागिर खुवाउने नियतले गर्दा यसो भएको हुनुपर्छ भन्ने लाग्छ ।
यहाँ अर्को एउटा प्रसङ्ग पनि जोडिहालौँ । तपाईं प्रज्ञाको आधिकारिक शब्दकोशको विशेष सम्पादक र व्याकरणकार पनि हुनुहुन्छ । यो वर्णविन्याससम्बन्धी विवादको चुरोचाहिँ के हो नि ?
तपाईंले सान्दर्भिक प्रश्न गर्नुभयो । यसबारे निकै लामो व्याख्याको आवश्यकता छ । अहिले यहाँ सबै भन्न त सम्भव छैन । कुरा के हो भने भाषाको परिवर्तनशीलता र ग्रहणशीलतालाई नबुझ्ने केही प्रतिगामी तत्त्वले भाषामा स्वाभाविक रूपमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसकी वर्णविन्यास बिगारे भनेर हल्ला गर्दै यस विषयलाई अदालतसम्म पुर्याए । यद्यपि त्यो अदालतको विषय नै थिएन र सम्मानित अदालतले यस प्रकारको वर्णविन्यास प्रयोग गर भनेको पनि छैन । कुनै पनि जीवन्त भाषाका ध्वनि, अर्थ र प्रयोगमा निरन्तर परिवर्तन भइरहन्छ । आम प्रयोक्ताले प्रयोग गरिरहेको त्यस पक्षलाई पहिचान गरी सम्बद्ध विज्ञहरूले व्याकरण लेखन र शब्दकोश निर्माणका माध्यमबाट भाषाको स्तरीकरण एवं वर्तमान स्वरूपलाई निर्धारण गर्दै जान्छन् । यहाँ पनि त्यही भएको हो ।
नेपाली भाषाको मौलिकताको कुरा गर्ने तर आगन्तुक शब्दलाई नेपाली नियम अनुकूल होइन–जस्ताको तस्तै लेख्नुपर्छ भन्नेहरू भाषाको प्रवृत्ति र प्रकृति नबुझ्ने प्रतिगामी र अराष्ट्रवादी हुन् । उनीहरू पुरानो रूपको प्रयोग गर्नुपर्छ भन्छन् । पुरानो भनेको प्राथमिककालीन कि माध्यमिक–कालीन रूप हो ? कुन रूप प्रयोग गर्ने भनेको हो ? यो विषय भनेको चिहानमा गाडिई माटोमा विलीन भइसकेको राजतन्त्रलाई फर्काउँछौं भनेजस्तै हो । त्यसैले विवाद भनेको केही असमझदारी, केही अज्ञानता र केही प्रतिगमनप्रतिको मोहका कारणले भएको हो । नेपाली भाषा त आफ्नो प्रवृत्ति र प्रकृतिअनुरूप परिवर्तन र विकास हुँदै अघि बढिरहेकै छ अनि त्यही अनुरूप प्रयुक्त पनि भइरहेकै छ ।
आफ्नो लेखनप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
पूर्ण सन्तुष्टि त सायद कसैलाई पनि हुँदैन नै होला । असल मनसायले जे लेखिएको छ र जे काम गरिएको छ– त्यसप्रति त सन्तुष्ट हुनै पर्छ तर अझै धेरै काम गर्न भने बाँकी नै छ । पूर्ण सन्तुष्टि भयो भने त अघि बढ्ने क्रम नै रोकिन्छ नि ।
स्रष्टा प्रति राज्यको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
स्रष्टाले सहज रूपमा सृजना गर्न सक्ने वातावरण राज्यले नै बनाइदिने हो । जहाँ साहित्य र कलाको विकास भएको हुन्छ अनि जहाँ स्रष्टाको कदर एवं मान–सम्मान हुन्छ– त्यस्तो मुलुकको सबैले इज्जत गर्छन् । राज्यको समृद्धिको सूचकमा भाषा, साहित्य र कला पनि पर्दछन् । त्यसैले स्रष्टाप्रति राज्य संवेदनशील हुनुपर्छ भन्ने मलाई लाग्छ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
साहित्य समाजको प्रतिविम्बन र चित्रणमात्र होइन– रूपान्तरणको माध्यम पनि हो । म साहित्यमा वैचारिक लेखनको अपेक्षा गर्दछु । विचारविनाको साहित्य हुँदैन भन्ने मेरो विचार छ । त्यसैले म समाजका गतिशील यथार्थलाई प्रस्तुत गर्दै अग्रगामी परिवर्तन र रूपान्तरणका पक्षमा साहित्य सृजना हुनुपर्छ भन्ने पक्षमा छु । साहित्यको निश्चित उद्देश्य र प्रयोजन हुन्छ । विनाउद्देश्य र विनाप्रयोजन साहित्य–कलाको सृजना हुँदैन । साहित्य किन लेखिन्छ भन्ने प्रश्नको उत्तर उद्देश्य हो भने के का लागि लेखिन्छ भन्ने प्रश्नको उत्तर प्रयोजन हो । साहित्य–कलाको सृजना मनोरञ्जनका लागि मात्र गरिँदैन–समाजलाई परिवर्तन गर्न, संसारलाई बदल्न र मानव जीवनलाई उन्नत पार्न नै साहित्य सृजना गरिन्छ। मेरो साहित्यिक आदर्श पनि यही हो ।
अहिले नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
गर्ने र नगर्ने दुवै थरी छन् । माथि नै भनियो– साहित्य स्वान्तःसुखायको विषयमात्र होइन– समाजको अग्रगमन र परिवर्तनको माध्यम पनि हो । यसका लागि लेखक समाजका वस्तुगत यथार्थप्रति राम्ररी परिचित हुनुपर्छ र ऊ सधैँ आलोचनात्मक पनि रहनुपर्छ । आलोचनाका माध्यमबाट समाजका राम्रा/नराम्रा पक्षको उत्खनन् गरी राम्रा पक्षको समर्थन र नराम्रा पक्षप्रति प्रहार एवं आलोचना भएन भने समाज सही रूपमा अघि बढ्न सक्दैन र लेखकीय दायित्व पनि पूरा हुँदैन । समाजलाई अग्रगमनको बाटोमा डोर्याउने काममा राजनीतिलाई साहित्यले सघाउ पुर्याउनुपर्छ। राजनीति गलत दिशातिर गयो भने लेखकले त्यसलाई खबरदारी गर्न सक्छ तर कतिपय लेखकले आज प्रतिबद्धताका नाममा गलत राजनीतिलाई नै पक्षपोषण गर्ने गरी लेखिरहेका पनि छन् । प्रतिबद्धताको अर्थ वैचारिक निष्ठाको कुरा हो– आफ्नो पक्षको अन्ध समर्थन होइन । लेखकीय दायित्व त्यतिखेर पूरा हुन्छ– जतिखेर लेखकले सहीलाई सही र गलतलाई गलत भन्ने सामर्थ्य राख्छ ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
साहित्य समाजको उपज भएकाले समयको गतिसँगै यसको सार र रूपमा पनि परिवर्तन हुन्छ । त्यसैले साहित्यलाई समय सापेक्ष रूपमा हेर्नुपर्छ । हिजोको पूर्व पञ्चायती काल र उत्तर पञ्चायती काल अनि आजको गणतन्त्र कालमा लेखिएका साहित्यमा साँच्चै भिन्नता छ । राजनीतिले साहित्यमा पनि प्रभाव पार्ने भएकाले यसलाई निरपेक्ष रूपमा हेर्न मिल्दैन । हिजोको साहित्यमा निरङ्कुशताविरुद्ध स्वतन्त्रताको स्वर घनीभूत रूपमा व्यक्त थियो भने आजको साहित्यमा समाज र राजनीति जुन प्रकारले अघि बढ्दै छ– त्यसप्रति चेतावनी र खबरदारी छ अनि आलोचना तथा सुधारका लागि सुझाव पनि छ ।हिजोको साहित्य लेखन राजनीतिक परिवर्तन र खुला समाजका लागि केन्द्रित थियो भने आजको लेखन समाजको पूर्ण परिवर्तन अनि समृद्धिको प्राप्तिमा केन्द्रित छ ।
तपाईंका विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्य साध्य नभएर साधन हो । यसर्थ साहित्यका लागि साहित्य होइन– जीवनका लागि साहित्य लेखिनुपर्छ । साहित्यलाई प्रयोजन वा उपयोगिताका दृष्टिले नहेरी विशुद्धतावादी दृष्टिले हेर्नेहरू कलावादी हुन् । कला कलाका लागि नभएर जीवनका लागि हो । त्यसैले जीवनमुखी, परिवर्तनधर्मी, सहज सम्प्रेषणीय, सन्देशमूलक तथा अन्तरवस्तु र रूपकाबीच सन्तुलित साहित्य आजको आवश्यकता हो । लेख्नका लागि लेखिने र सस्तो प्रचारबाजीका लागि लेखिने साहित्यको कुनै महत्त्व हुँदैन ।
लेख्ने प्रेरणा कहाँबाट प्राप्त हुन्छ जस्तो लाग्छ ?
प्रकृति, समाज र मान्छेभन्दा पर कुनै पनि सत्य छैन । स्रष्टाले यहीँबाट लेखनको विषय छान्दै र प्रेरणा पनि ग्रहण गर्ने हो । जीवन–जगतमा रहेका अनेक विसङ्गति, विद्रूपता, विभेद र अमिल्दा पक्ष नै साहित्य सृजनाका प्रेरक तत्त्व हुन् । स्रष्टालाई जीवन–जगतका त्यस्ता बहुविध यथार्थले संवेदनशील बनाएपछि ऊ त्यसलाई कलाका सहायताले अभिव्यक्त गर्नतिर लाग्छ र साहित्यको जन्म हुन्छ ।
तपाईंको लेख्ने निश्चित समय छ कि ?
मेरो लेख्ने खासै समय छैन । फुर्सदमा लेख्न बस्छु । अधिकांश समय विभिन्न कार्यक्रम, गोष्ठी र बैठकमा बित्छ । सृजना गर्दाचाहिँ बढीजसो रातिसबै सुतेपछि उपयुक्त लाग्छ । त्यो समय एकदमै शान्त र लेखनका लागि उपयुक्त हुन्छ । समालोचना लेख्दाचाहिँ पुस्तकालयको प्रयोग गर्नुपर्ने हुँदा दिउँसो र जुनसुकै बेला पनि अनुकूल हुन सक्छ । समयको व्यवस्थापन आफूले नै गर्ने हो ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
लेखनका निम्ति समाजमा अनेक विषय हुन्छन् । त्यसमा पनि आफ्नो रुचिका विषयले प्राथमिकता पाउने हो । खोलामा माछा अनायासै देखापरेजस्तै समाजमा अनेक विषय लेखकका अगाडि सतहमा आइरहेका हुन्छन् । त्यसलाई स्रष्टाले समात्न सक्नुपर्छ नत्र हातबाट माछा फुत्केजस्तो विषय पनि फुत्केर जान्छ । तीमध्ये लेखकले सामयिक र जीवनोपयोगी विषयवस्तु पहिचान गर्न सक्नुपर्छ । कहिलेकाहीँ आवश्यकता र मागका आधारमा पनि लेखिन्छ । विश्वविद्यालयमा प्राध्यापन गर्दा पठनपाठनका निम्ति आवश्यक पर्ने सामग्री पनि तयार गरियो भने अरूबेला स्वतन्त्र अध्ययन–अनुसन्धान र लेखन पनि गरियो ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ ?
सबैभन्दा बढी लेखिने र पढिने विधा त कविता नै हो तर पाठकका निम्ति बढी रुचिकर लाग्ने विधा चाहिँ आख्यान तथा संस्मरण र नियात्रा नै हुन् । पाठक पनि विभिन्न रुचिका र स्तरका हुन्छन् नि । बौद्धिक पाठकले त्यही अनुसारको दार्शनिक स्तरयुक्त सामग्री खोज्छ भने सामान्य पाठकले मनोरञ्जन दिने र सहज रूपमा बुझ्न सकिने रचनाको अपेक्षा गर्छ ।
सृजनामा यथार्थता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
सृजनामा कोरा कल्पनामात्र भयो भने पनि त्यो जीवनबाट टाढा हुन पुग्छ अनि यथार्थको वर्णनमात्र भयो भने पनि त्यो सृजना नभई कोरा कुरामात्र हुन पुग्छ । त्यसैले सृजनामा यथार्थको फोटोग्राफी होइन–कल्पनाको जलपसहितको प्रतिविम्बन, पुनः सृजन वा पुनरुत्पादन आवश्यक हुन्छ ।
लेख्नुपर्ने बाध्यता कति बेला महसुस हुन्छ ?
खास सृजना त खास विशेष क्षणमा नै लेखिन्छ । समालोचना, समीक्षा र अनुसन्धानात्मक लेख चाहिँ कसैले मागेका बेला र आवश्यकता परेका बेला बाध्यतामा पनि लेखिन्छ ।
किन कोही स्रष्टा दलको झन्डामुनि ओत लाग्ने रहर गर्छन्?
लोकतन्त्रमा झन्डामुनि ओत लाग्ने कुरा स्वाभाविकै हो नि । झन्डामुनि बसेर जनविरोधी सृजना पो गर्नु भएन त । कला–साहित्य राजनीतिबाट अलग हुन्छन् भन्नु बेतुकको कुरा हो । जसले यस्तो कुरा गर्छ– उसले पनि आफ्नो पक्षको राजनीति नै गरिरहेको हुन्छ । राजनीतिले थिचेको साहित्य पो अस्वीकार्य हुन्छ त दर्शन र विचार त साहित्यमा अपेक्षित नै छ नि । राजनीतिक दलले बोकेको विचार राम्रो छ र त्यसले समाज र राष्ट्रलाई फाइदा पुर्याउँछ भने त्यसलाई सहयोग गर्नु गलत होइन नि । निरपेक्ष भन्ने चीज संसारमा केही पनि हुँदैन, सबै कुरा सापेक्ष नै हुन्छन् । तपाईंले विश्वको र नेपाली साहित्यकै पनि इतिहासलाई पल्टाएर हेर्नुभयो भने युगीन राजनीतिक घटनाले साहित्यलाई प्रत्यक्ष प्रभाव पारिरहेकै पाउनुहुन्छ र साहित्य पढ्दा अन्तर्यमा राजनीति पनि पाइन्छ ।
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
रहर र सस्तो प्रचारका लागि होइन– प्रशस्त साधना गरेर विचार अनि दृष्टिकोण निर्माण गरी लेख्न थालियो भने त्यो सृजना जीवन्त र स्तरीय पनि हुन्छ । लेखनमा अरूको नक्कल होइन– आफ्नै मौलिक शैलीको विकास गर्नु राम्रो हुन्छ ।