
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पहिचान गुमाइसकेको बताएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा मागेर सदन अवरुद्ध गर्दै आएको र गृहमन्त्रीको राजिनामाबाट व्याक नहट्ने भनिरहेको माओवादीले शुक्रबार सरकारसँग दुई बुँदे सम्झौता गरेपछि बस्नेतले माओवादीले सक्दा सत्ताका लागि र नसक्दा सत्ताबाट स्वार्थ पूर्तिका लागि सबैसँग पालैपालो सम्झौता गर्दा आफ्नो अस्तित्व र पहिचान गुमाइसकेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘माओवादी एक थान पार्टी भन्दा पनि मुलुक रुपान्तरणको अभियान र आन्दोलन हो भन्ने मान्छेहरुलाई लाग्थ्यो । कुनैबेला झुत्रेझात्रे परेको माओवादीसँग ठूला ठूला सामन्ती भनिनेहरु पनि सतर्क हुन्थे । विडम्बडना माओवादीप्रति जनताको विश्वास र माओवादीसँग अन्य दलहरुबीच अन्तर दुबै अब बाँकी रहेन ।’
माओवादी अब पार्टीभित्र नवसामन्तवादको प्रवर्धन गर्दै सत्तासँग आत्मसमर्पण र सौदाबाजीमै आफ्नो अस्तित्वको खोजी गर्न थालेको उनको आरोप छ ।