
रौतहट - पछिल्लो समय रौतहटमा शृङ्खलाबद्ध नवविवाहिता महिलाको हत्या भएको छ। एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको दाबी गरिएको छ।
कटहरिया नगरपालिका १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको शंकास्पद हत्या भएको छ। मृतक महिलाको श्रीमान् र सासु फरार भएका छन भने ससुरालाई प्रहरीले पक्राउ गरेको छ। १ महिनाको अवधिमा यो तेस्रो नवविवाहिताको शंकास्पद हत्या हो। यसअघि एक नवविवाहिताको मृत्यु प्रकरणमा उनको श्रीमान् माथि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो। तर अर्को घटना अनुसन्धानकै क्रममा रहेको छ।
मंगलबार बेलुकी ८ बजे कटहरिया नगरपालिका १ भसेढवा बस्ने अनकेश यादवको श्रीमती बर्ष २२ कि अल्का यादव आफ्नै घरको सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुग्दा उक्त महिला उतानो परी मृत अवस्थामा रहेको,निज मृतकले उल्टि गरेको, घटना शंकास्पद रहेको डिएसपी राजन कार्कीले बताए । प्रहरी टोली घटनास्थल पुगेपछि मृतकका श्रीमान अनकेश यादव र सासु वर्ष ४६ की शान्ति देवी फरार रहेको कारण मृतकको ससुरा बर्ष ५१ को रामपुकार प्रसाद यादवलाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ।
मंगलनार बेलुकी अल्काको श्रीमान्, सासु,ससुरा मिलेर कुटपिट गरी घाँटी थिचेर हत्या गरेर आत्महत्या देखाउन खोजेको माइती पक्षको दाबी रहेको छ। डिएसपी कार्कीका अनुसार अल्का यादवको मृत्युको घटना सम्बन्धमा गम्भीर रूपमा अनुसन्धान भइरहेको छ,। उसको ससुरासँग घटनाबारे सोधबुझ जारी रहेको छ। पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धान पूरा भएपछि घटनाबारे एकिनका साथ भन्नसक्ने डिएसपी कार्कीले जानकारी दिएका छन्। साथै फरार रहेका मृतकका श्रीमान् र सासुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
दुईसाता अघि मात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया ३ बडेरवा घर भई हाल कटहरिया बजारमा बस्ने अहमद राय भाटको छोरा बर्ष २५ का अरमान राय भाट माथि ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको थियो। उनी हालसम्म फरार रहेका छन्।
त्यस्तै गत १६ गते दुर्गा भगवती गाँउपालिका छेउ खोला किनार झाडीमा अनेक श्रृंगारबाट सजिएकी सुन चाँदीको गहना लगाएकी एक २४ वर्षिया नव विवाहिताको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटले घटना शंकास्पद भएको भन्दै अनुसन्धान सुरु भएको छ। तर हालसम्म घटनाको कारण तथा मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
दाइजो लगायत विभिन्न कारणले मधेश प्रदेशमा नवविवाहिता महिलाको हत्याको घटनामा वृद्धि भएको छ। घटना पछि राजनीतिक संरक्षण र आर्थिक चलखेलको कारण अपराधी कारबाहीबाट उम्किने गरेको कारण यस्ता जघन्य घटनाहरू दिनानुदिन बढ्दै गएको स्थानीयहरूले बताएका छन्।