Harsamaya
आज भोटो  जात्रा,  काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
फाइल फोटो ।

काठमाडौं - वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्राको अवसरमा आज सरकारले काठमाण्डौं उपत्यका भर सार्वजनिक बिदा दिएको छ । आज ललितपुरको जावलाखेलमा राष्ट्रपतिको उपस्थितिमा भोटो देखाइने छ । भोटो जात्रालाई करिब आठ सय वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य कीर्तिमान जोशीले जानकारी दिए ।

भोटो जात्रा सुरु भएको यकिन तिथि मिति अहिलेसम्म पत्ता लागेको छैन । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कार स्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो ।

किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्य रुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइएको किंवदन्ती छ ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update