Harsamaya
दुई लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौं

काठमाडौं - बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन्।

उपत्यका छाड्नेमा एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष छन्। दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक घर फर्किन थालेपछि बसपार्क र प्रमुख नाकामा यात्रुको चाप बढेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यात्रुको चाप बढेसँगै सवारी आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले निगरानी बढाएको छ।

दसैँ, तिहारलगायत चाडपर्वमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएको काफ्लेले बताए। लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयबारे ध्यान दिनुपर्ने उनको भनाइ छ।

यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बिपी राजमार्गलगायत प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update