
तीन भाइ भएका
तर कहिले साथ रहन नसकेका
चिथोर्दै गन्तव्य बेतोडले भागी रहेका
कालले पनि हार खाएको,
ब्रह्माण्ड आफ्नो बसमा गरी,
हुकुम चलाएका ।
मसानघाटका पिचास झैँ,
नाङ्गो नाच देखाएका
त पापी होस् मेरो जीवनको,
मायामोह सर्वस्व पारेका
तेजस्वी सुर्यलाई पनि,
विश्राम गर भनेका
हिउँ झैँ चिसा चन्द्रमालाई,
समेत विवश बनाएका ।
तै हो ज्यामाराज मेरो,
दुखको संरक्षक बनेको
तेरो टिकटिके नाचले,
मेरो कन्सिरी तातेको
मेरो असफलतामा खुशी भइ,
किन तँ यसरी हाँसेको ।
के पाइस तैंले,
राजा बनी मेरो पतनको
तेरै दरबारले नै सक्यो,
मेरो सुख, शान्ति सर्वस्व
सानैबाट सम्मान गरे,
मैले तेरो नियमलाई
तेरा भाइहरू भन्दा,
मै नाचेको छु तेरो इसारा मै ।
समयको सेनापति बनेर,
के उखेलिस् खै कुन्नि
तेरै कारणले सडेर जाने भयो,
मेरो गुलाफ झैँ जुनी ।
पेन्डुलम होइन म,
अब हावा जस्तै बग्छु,
न समय समात्न,
न चोटको मलम माग्छु।
क्षितिज चिरेर,
नयाँ बिहानी खोज्छु,
भित्र बाँच्न सिकेपछि,
बाहिर स्वतः म नाच्छु।