
बुटवल - बुटवलको कालीकानगरस्थित होराइजन चोक नजिकै एक व्यक्तिले पूर्व पत्नी र दुई छोरीको बीभत्स हत्या गरेका छन् । बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा ३४ वर्षीय दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार पूर्व श्रीमान् सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर उनीहरुको हत्या गरेको जानकारी दिए ।
मृतक दीपा सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरी बस्दै आएकी थिइन् । उनीहरूलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।