काठमाडौं - स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष अभियानका क्रममा नियमविपरीत साइलेन्सर तथा अन्य पार्टपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा लिइएका हुन् ।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ । कारबाहीका क्रममा ती मोटरसाइकललाई कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काउन लगाइनेछ । आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ ।
सवारीसाधनको स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्दा ध्वनि प्रदूषण बढ्नुका साथै सर्वसाधारणको स्वास्थ्य र दैनिक जनजीवनमा समेत असर पर्ने भएकाले यस्तो कार्य नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेको निर्देशनमा सञ्चालन भइरहेको अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी धनी तथा चालकलाई कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न र गैरकानुनी रूपमा स्वरूप परिवर्तन नगर्न अनुरोध गरेका छन् ।

