Harsamaya
सिन्धुलीमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सिन्धुली - सिन्धुलीमा ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

जिल्लाको कमलामाई नगरपालिका–१० डाँडाटोलमा सामान्य विवादका क्रममा श्रीमानले लोहोरो प्रहार गर्दा ४० वर्षीया सानुकुमारी कार्कीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार २०८३ मंसिर १ गते राति करिब १ बजे ४२ वर्षीय मनोज कार्कीले आफ्नै श्रीमती सानुकुमारीको टाउकोमा ढुङ्गाको लोहोरोले प्रहार गरेका थिए । प्रहारबाट गम्भीर घाइते भएकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे राति १ः१५ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update