Harsamaya
खैरो हेरोइनसहित भारतीय दम्पती र छोरा पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

मोरङ - मोरङमा २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनसहित एकै परिवारका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा श्रीमान्–श्रीमती र उनीहरूका छोरा रहेका छन् ।

जिल्लाको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट भारततर्फबाट पैदल नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार साँझ करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोलकी ४० वर्षीया सकुन्तला पासवानले दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थ तौल गर्दा २९ ग्राम ४८० मिलिग्राम रहेको खुलेको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र उनीहरूका १८ वर्षीय छोरा करण पासवान रहेका छन् । तीनै जना भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोलका स्थायी बासिन्दा हुन् ।

बरामद लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update