Harsamaya
वित्तीय अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन प्रहरी महानिरीक्षकको जोड
प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी. ।

काठमाडौं - प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.ले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अपनाउनुपर्नेमा जोड दिएका छन् ।

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगले नयाँ चुनौती थपिएको बताए ।

‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ भन्ने नाराका साथ आयोजित कार्यशालाको मुख्य विषयवस्तु ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ ।

कार्यशालामा वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको विश्लेषण गर्दै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ ।

प्रहरी महानिरीक्षक के.सी.ले वित्तीय अपराध नियन्त्रण र अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए । उनले सूचनाको प्रभावकारी आदानप्रदानलाई समेत थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था तथा दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक के.सी.ले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गरेका छन् । अपराध अनुसन्धान विभागको स्थापना दिवसका अवसरमा आयोजित कार्यशालाले वित्तीय अपराध अनुसन्धानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update