काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम् सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए ।
उनले जेठ १५ को आन्दोलनलाई निष्कर्षमा पुर्याउनेगरी निर्णायक आन्दोलनका रूपमा अगाडि बढाउन खोजिएको बताएका हुन् । उनले भने, ‘जेठ १५ गतेदेखि हुने आन्दोलनलाई निष्कर्षमा पुर्याउने र निर्णायक आन्दोलनका रूपमा अगाडि बढाउन खोजिरहेका छौं । राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्त हुन, हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्थापना गर्न र संघीयताको खारेजी तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ विगत लामो समयदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका छौं । देशका विभिन्न जिल्लाहरूमा र काठमाडौं केन्द्रित विरोध प्रदर्शन एवम् संघर्षका कार्यक्रमहरू सञ्चालन गरिरहेका हौं ।’
यस्तै, उनले आन्दोलन कुनैपनि दल वा सरकारको विरुद्धमा नभइ देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिका लागि भएको पनि बताए ।
उनले भने, ‘यो आन्दोलन एउटा पार्टीको मात्र आन्दोलन होइन् । यसमा आबद्ध भएका ३५ दल र समूहहरूको मात्र आन्दोलन पनि होइन् । यसलाई आम जनताको खासगरी राष्ट्रवादी विचारधारा राख्ने जनताको साझा आन्दोलनको रूपमा अघि बढाउने हाम्रो प्रयास हो । यसमा आम जनताको सहभागिताका लागि आह्वान गरेका छौं । र काठमाडौं बाहिरबाट पनि धेरै ठूलो संख्यामा जनताको सहभागिता हुने आशा लिएका छौं । आन्दोलन कुनैपनि दलका विरुद्धमा होइन, सरकारको विरुद्धमा पनि होइन् । आन्दोलन देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिको आन्दोलन हो ।’