ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते

काठमाडौं - ललितपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुना–खरिबोट खण्डमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् ।
बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौंको नैकाप बस्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको अल्का अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको उनले बताए । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार नम्रता लामिछाने र निजका छोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जोशीले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२ २१:४८
प्रतिक्रिया दिनुहोस्