Harsamaya
११२ किलो बढी गाँजा बोकेको स्कर्पियोसहित सोमबहादुर पक्राउ
सर्लाहीस्थित प्रहरी गस्ती टोलीले ११२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको स्कर्पियो गाडी १ थान मोटरसाइकल सहित १ जना मानिसलाई पक्राउ गरेको छ।

सर्लाही - सर्लाहीस्थित प्रहरी गस्ती टोलीले ११२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको स्कर्पियो गाडी १ थान मोटरसाइकल सहित १ जना मानिसलाई पक्राउ गरेको छ।

सर्लाहीको अति विकट क्षेत्रमा लालबन्दी नगरपालिका–१४ डाइनी खोला छेउबाट ११२ केजी ७८ ग्राम गाँजा बोकेको गाडी, मोटरसाइकलसहित १ जना पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्काले बताएका छन्। विशेष सूचनाको आधारमा सोमबार राति १० बजे प्रहरी टोली डाइनी खोला पुगेर कारबाही गरेको थियो।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले डाइनी खोलाबाट तामाङलाई प्लास्टिकमा प्याक गरेर तयार पारिएको उक्त परिमाणको लागू औषध गाँजासहित पक्राउ गरेको हो ।  

तामाङले गाँजा ओसारपसार गर्न प्रयोग गरेको बीआर ३२ ए एन ०८१७ नम्बरको भारतीय स्कर्पियो र लु.२२ प ३८९४ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । 

उक्त स्थानमा प्रहरी टोली पुग्दा गाँजाको कारोबारमा संलग्न अन्य मानिसहरू फरार हुन सफल भएका थिए। सोम बहादुर माथि मुद्दा दायर गरी सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

फरार मानिसहरूको सम्बन्धमा अनुसन्धान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update