Harsamaya
‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै
‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै ।

काठमाडौं - ‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै छ । ‘पर्यटन प्रवर्द्धन मञ्च नेपाल’को आयोजनामा यही जेठ ५, ६ र ७ गते काठमाडौँको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा  प्रदर्शनी हुन लागेको हो।

प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ । मञ्चका अनुसार रोल्पाको इतिहास, प्रकृति र सांस्कृतिक उजार गर्दै पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो ।

फोटो प्रदर्शनीको क्रममा रोल्पाका पर्यटकीय स्थलहरूको चर्चा र पर्यटन विकासबारे अन्तरक्रियासमेत हुने फोटोग्राफर पुनले जनाएका छन्। फोटोग्राफर पुन पर्यटन अभियन्ता हुन्। रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ७, डम्फु गाउँका पुन करिब दुई दशकदेखि ग्रामीण पर्यटन विकास एवम् प्रवर्द्धनमा क्रियाशील छन्। उनले फोटोग्राफी सुरु गरेको एक दशक भयो।

उनी विशेषतः प्रकृति, संस्कृति र जीवनशैलीका तस्बिर खिच्छन्। साथै विभिन्न सञ्चार माध्यममा पर्यटनसम्बन्धी लेख–रचना पनि लेख्छन् । उनी ‘खाम पदमार्ग’का परिकल्पनाकार हुन्। रोल्पाको जेलबाङ गाम हुँदै पूर्वी रुकुमको चौरीखर्क, पेल्मा भएर मैकोटसम्म जोड्ने पदमार्गलाई उनले ‘खाम पदमार्ग’ नामकरण गरेका छन्। उनी ‘गुरिल्ला म्याराथन’का परिकल्पनाकार पनि हुन्।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update