
दाेहा - हमासले युद्धविराम सम्झौता अन्तर्गत थप बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ । इजरायल र हमासबीच शनिबार गाजामा युद्धविरामका लागि भएको वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौता अनुसार धेरै इजरायली बन्धकलाई छाड्ने सर्त राखेको छ ।
इजरायली सेनाले गाजा पट्टीमा ठूलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि वार्ता सुरु भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका अनुसार हमासले ६० दिनको युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बदलामा नौ बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको एक प्यालेस्टिनी अधिकारीले बताएका छन् ।
नयाँ सम्झौता अनुसार दैनिक गाजामा ४०० राहत सामग्रीले भरिएका ट्रक जान दिने र गाजाका बिरामीलाई बाहिर निकाल्ने अनुमति पनि हुने एक जना प्यालेस्टिनी अधिकारीले बताए ।
यसको बदलामा हमासले बन्धक बनाएका सबै इजरायली जिउँदो भएको प्रमाण र उनीहरुका बारेमा जानकारी दिनुपर्ने इजरायलको माग छ । युद्धविराम वार्ता कतार र अमेरिकाको मध्यस्थतामा दोहामा भइरहेको छ । तर प्रस्तावित सम्झौतामा इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।