
रौतहट - रौतहटको कटहरिया नगरपालिका अन्तर्गत विवाह भएको ६ महिना नपुग्दै नवविवाहित मुस्लिम महिलाको मृत्युको घटनासँग जोडिएका मुख्य आरोपी फरार भएका छन्।
घटनालाई दबाउन दोषीलाई कारबाहीबाट बचाउन अहिले विचौलियाको चलखेल सुरु भएको छ। विचौलियाले प्रहरीसँगै पीडित परिवारलाई अनेकन दबाब र प्रभावमा पार्न चलखेल सुरु गरेका हुन्।
कटहरिया–३ बड़ेरवा टोलमा घर भई हाल कटहरिया– ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाटको श्रीमती २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको थियो।
माइती पक्षले दाइजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानुनी कारबाही हुनुपर्ने माग गर्दै ईलाका प्रहरी कार्यालय गरुडामा आएका छन्। घटनापछि मुख्य आरोपी मृतक सानियाका श्रीमान अरमान फरार भएका छन्। तर, विचौलियाहरू भने दिनभरी ईलाका प्रहरी कार्यालय गरुडाको चक्कर लगाइरहेका छन्।
मृतकका बुबा भारत विहार मोतीहारी जिल्ला सुगौली नगरपालिका–११ राय टोला निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाइजोको कारण छोरी सानियालाई दैनिक जसो कुटपिट गरी ज्वाइँ अरमान सहित सपरिवार मिलेर हत्या गरेका हुन । बिहे भएको ६ महिना भयो तर विभिन्न सामान, दाइजोमा र पैसा पनि माग गर्दै छोरीलाई एक पटक पनि माइती जान नदिएको उनीहरूको भनाइ रहेको छ।
घटनाको अघिल्लो दिन छोरी सानियासँग फोनमा कुराकानी भएको थियो। सम्धी अहमद रायले छोरीलाई माइती पठाउन सहमत भएका थिए। सोही सहमति अनुसार घटनाको १ दिन अघि छोरीले फोन गरेर भनेकी थिइन्, ‘बुबा गाड़ी लिएर भोलि आउनु होला साथसाथ घर जाने है ।’
छोरीलाई माइतीबाट कुर्बानी पर्व अघि बिदा गर्ने सम्धी अहमदसँग सहमति भएको थियो। छोरी सानिया मर्नु २ घण्टा अघि भिडियो कल गरेर भोलि आउने भन्दै आफ्नो आमालाई बताएकी थिइन्। सो समय छोरी निकै नै खुसीका साथ कुरा गरेकी थिइन्। त्यसको मात्र २ घण्टा पछि ज्वाइँ अरमान घरको छत माथिबाट कोठामा आएर छोरीको घाँटी थिचेर मारेको बुबा मोलाजीम रौशनले बताएका छन्।
छोरी सानियाको ६ महिना अघि अरमानसँग बिहे गर्दा दाइजोमा फर्निचर, वासिङ मेशिन, फ्रिज, कुलर पंखा, नाक, कान, घाँटीमा सुनको गहना सुनको औंठी, लगायत सम्पूर्ण सामान दिएको उनले बताए। छोरी सानियाको बिदा गर्न पटक पटक भन्दा कहिले केटीएम मोटरसाइकल त, कहिले १ लाख भारु माग गरेको, केही दिन अघि घरमा एसी जडान गर्न माग गरिएको थियो।
उनीहरूको माग पुरा गर्न नसकेको कारण विशेष गरी सम्धिनीसँग मिलेर रमानाले छोरी सानियाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्याएर आत्महत्या देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरेका छन्।
सम्धी अहमदको अर्को छोरा लालबाबु राय भाटसँग आफ्नो अर्की छोरी नगमा प्रविनको १० वर्ष अघि विहे गराएका थिए। अहिले नाति नातिनी सबै छन् र उनीहरू खुसीका साथ गुजारा गरिरहेका छन्।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले हिजो बुधबार अर्की छोरी नगमा र ज्वाइँ लालबाबुलाई बोलाएर बयान लिँदा घटनामा आरोपी अरमान पुरै दोषी भएको बयान दिएको मोलाजीमको भनाई रहेको छ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी कार्कीले घटना सम्बन्धमा अनेक कोणबाट अनुसन्धान भइरहेको जनाए । मुख्य आरोपीलाई झिकाउन प्रहरी पठाए पनि उनी सम्पर्कविहीन भएका छन्।
यस घटनाबारे मुद्दा दर्ता गर्न नगर्न कैयौँ मानिसबाट सिफारिसका साथ अनेक प्रकारका प्रस्ताव आइरहेको डिएसपी कार्कीले स्वीकार गरेका छन्। मानिसको ज्यान गएको घटना हो, सिफारिस गर्नेको कुरा छोडौं, सिफारिस आईरहन्छ तर अनुसन्धानबाट दोषी ठहर भएमा कारबाहीको दायरामा ल्याउने जनाए ।
के हो घटना
गत आइतवार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको थियो। घटनाको खबर लगतै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको थियो ।
पोष्टमार्टम पछि मृतकको शव माइती पक्षले बुझेर लगी सत गत गरिसकेका छन्। सानियाको सासु ससुरा लगायतले उनी पासो लगाएर आत्महत्या गरेको बताइरहेका छन् भने माइती पक्षले छोरीको हत्या गरेर शवलाई झुण्ड्याएर आत्महत्या देखाउन खोजेकाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन्।
मृतकको काका सोलाजीम रौशनले भने, ‘हामी भारतबाट आएका छौं, यहाँको भाषा, यहाँको कानुन बारे थाहा छैन तर यहाँको प्रहरी माथि विश्वास छ, हामीलाई अवश्य न्याय दिन्छु भनेका छन्। ज्वाइँ पक्षका केही मानिसले थाना म्यानेज गरिसकेको भनिरहेका छन् तर मलाई डिएसपी कार्की र यहाँको कानुन माथि पूर्ण विश्वास छ ।’
कटहरिया नगरपालिका स्थित स्थानीय निकायको निर्वाचनमा पराजित भएका कतिपय दलका नेताहरू अहिले, प्रहरी, सरकारी वकिल र अदालत सम्मको दलाली गरिरहेको स्थानीयहरूले बताएका छन्।