
काठमाडौं - नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार बदनाम हुनुमा सल्लाहकारहरूको भूमिका रहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका सांसद खतिवडाले नेकपा एमाले र नेपाली कांग्रेसको सरकार ‘बदनाम’ हुनुमा सल्लाहकारको भूमिका रहेको आरोप लगाएका हुन् ।
उनले राष्ट्रपति, प्रधानमन्त्री देखी मन्त्रीहरूका सल्लाहकारले खेलेको भूमिकामाथि प्रश्न उठाउँदै उनीहरूमार्फत नै विचौलियाहरूको रजगज भएको पनि बताएका छन् ।
‘अहिले एउटा चर्चित काण्डमध्ये शरणार्थी काण्डको बीजारोपण गर्ने सल्लाहकार नै थिए। सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिने छन् कि छैनन् सल्लाहकारहरू विचौलियाका रूपम प्रवेश गरेका छन् कि छैनन् सल्लाहकारहरूसँग बेलुका बसेर मन्त्री प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेको हुँ। प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफैँ हुन्छ, परराष्ट्र मन्त्री आफैँ सल्लाहकार हुनुहुन्छ,' उनले संसदमा भने, 'प्रधानमन्त्रीको, राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे, मुख्य सल्लाहकार अरे, आर्थिक विज्ञ सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अरे, सूचना प्रविधि विज्ञ अरे।’
उनका अनुसार सल्लाहकारका कारण प्रधानमन्त्री र मन्त्रीहरू बदनाम हुने गरेको भन्दै सल्लाहकारको भूमिकामा प्रश्न उठाएका छन् ।