Harsamaya
सरकार रास्वपाले चलाएकै छैन : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेत ।

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व गर्न सक्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।

रवि लामिछाने प्राविधिक रुपमा बालेन्द्र शाहको सभापति रहेतापनि बालेन्द्र शाहलाई निर्देशन दिने र सरकारले गलत गर्दा सरकारलाई सहि ट्रयाकमा ल्याउन रास्वपा सफल नदेखिएको बस्नेतले बताएका छन् ।
 
बस्नेतले भने, ‘प्रधानमन्त्री शाहले संसदमै विवादास्पद र राष्ट्रघाती अभिव्यक्ति दिए । नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाए । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज गर्ने र सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय गरे । निजी शिक्षा तथा स्वास्थ्य सेवामा कर लगाए । गृहमन्त्री सुुधन गुरुङमाथि छानबिनको प्रतिवेदन सार्वजनिक नगरी पुनः गृहमन्त्रीमा पुनर्बहाली भए । रास्वपा र रवि लामिछाने केबल मुकदर्शक बने ।’

रास्वपा र रवि लामिछानेले बालेन्द्र शाह नेतृत्वको सरकारको बचाउ र समर्थनबाहेक केही गर्न नसक्ने उनको दाबी छ । ‘बालेन्द्र शाह जे गर्छन् र जे बोल्छन् त्यो रास्वपा र रवि लामिछानेले स्विकार गर्नुको विकल्प छैन,’ उनले भने ।
 
हालै पत्रकारमाथि भएको धरपकडबारे रास्वपाले छानबिन गर्न सरकारलाई दिएको निर्देशनको कुनै औचित्य नरहेको भन्दै उनले भने, ‘सरकार रास्वपाले चलाएकै छैन ।’

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update