
सिन्धुपाल्चोक - कर्मचारी माथि कुटपिट तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै इन्द्रावती गाउँपालिकामा कार्यरत कर्मचारीहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीहरुले आइतबार वडा नम्बर ७ का वडा कार्यालयमा कार्यरत वडासचिव लगायत कर्मचारीहरूलाई मादक पदार्थ सेवन गरी बिना कारण वडाका कर्मचारीहरु माथि कार्यकक्षमा हातपात एवं भौतिक आक्रमण गरी ज्यान मार्ने धम्की समेत दिएको भन्दै आपत्ति जनाएका हुन् ।
ईन्द्रावती गाउँपालिका ७ का सुनिल थापाले आइतबार मादक पदार्थ सेवन गरी वडा कार्यालयका भौतिक संरचना तथा सार्वजनिक सम्पत्तिहरू तोडफोड गरी कर्मचारीलाई ज्यान मार्ने धम्की दिएका थिए । कर्मचारीहरूले यस्ता अराजक गतिविधिको घोर भर्त्सना र निन्दा गरेका छन् ।
‘स्थानीय तहमा रही कार्यस्थलमा सेवारत राष्ट्रसेवक कर्मचारीमाथि गुण्डागर्दी शैलीमा हातपात तथा सार्वजनिक सम्पत्तिको तोडफोड हुनु कानुनी राज्यको उपहास भएको हाम्रो साझा ठम्याई छ’, जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । घटनाको सत्यतथ्य छानबिन गरी आपराधिक कार्यमा संलग्नलाई यथाशीघ्र कानुनी कठघरामा उभ्याई आवश्यक कारबाही नगरे गाउँपालिकाको सार्वजनिक सेवा प्रवाह ठप्प पार्ने कर्मचारीहरूले चेतावनी दिएका छन् ।
साथै कर्मचारीहरूको जीउ ज्यान तथा कार्यस्थलको सुरक्षा गर्न निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज तथा सम्वद्ध सबै पक्षसँग कर्मचारीले माग गरेका छन् ।