Harsamaya
इन्द्रावती अध्यक्ष कप : ५ खेल हुँदा वडा नम्बर १० फाइनलमा, ११ को एकै दिन दर्जन गोल
इन्द्रावती अध्यक्ष कप ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकाद्वारा आयोजित चौथो इन्द्रावती अध्यक्ष कप फुटबल प्रतियोगितामा शनिबार ५ वटा खेलहरू भएका छन्। इन्द्रावती रंगशालामा जारी प्रतियोगितामा वडा नं. १० फाइनलमा प्रवेश गर्न सफल भएको छ भने वडा नं. ११ ले एकै दिन दुई खेलमा १२ गोल गर्दै सबैको ध्यान खिचेको छ।

दिनको पहिलो खेलमा वडा नं. ११ ले वडा नं. ६ विरुद्ध ६–२ को जित हात पार्‍यो। इन्द्रावती ११ को आक्रमणशैली प्रभावशाली देखिएको थियो भने वडा ६ ले  दुई गोल फर्काउन सफल भयो।

दोस्रो खेलमा वडा ९ ले वडा ३ लाई ३–१ गोलअन्तरले पराजित गर्‍यो। खेलभरि वडा ९ को रणनीति र बल नियन्त्रण प्रशंसनीय रह्यो।

तेस्रो खेलमा वडा ५ ले वडा ७ लाई २–० ले हराउँदै सेमिफाइनल समीकरणमा आफूलाई बलियो बनायो।

त्यसपछि भएको चौथो खेलमा वडा ११ ले पुनः मैदानमा उपस्थित हुँदै वडा ४ विरुद्ध अर्को ६–० को फराकिलो जित निकालेको छ। एकै दिन दुई खेल खेल्दै कुल १२ गोल गरेका वडा ११ ले सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

दिनको अन्तिम तथा सेमिफाइनलको पहिलो खेलमा वडा १० र वडा ५ बीच कडा प्रतिस्पर्धा भयो। निर्धारित समयमा दुबै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा वडा १० विजयी बन्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो।

आयोजकका अनुसार, भोलि (आईतबार) सेमिफाइनलको दोस्रो खेल वडा ९ र वडा ११ बीच हुनेछ। सोही दिन फाइनल खेल पनि आयोजना हुने जनाइएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update