Harsamaya
कर्णालीको अपराजित यात्रामा ब्रेक

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगाएको हो ।

दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । जितका लागि पाएको १८१ रनको विशाल लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा राशिद खानले ५० र कप्तान करण केसीले ४४ रनको योगदान गरे। 

कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलतले २-२ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १८० रन बनायो । 

जसमा अरिफूल स्लामले ४४,हुसैन तलतले ४०,पवन सराफले ३० रनको योगदान गरे । काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए । 

आजै हुने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

सुदूरपश्चिम चौथो खेल खेलिरहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो । दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update