
सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिकामा आयोजनामा हुने चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर १ र वडा नम्बर १० बीच हुनेछ।
इन्द्रावती रंगशालामा हुने प्रतियोगिता तीन दिनसम्म चल्ने छ भने गाउँपालिकाका ११ वटै वडाहरूले सहभागिता जनाएका छन्।
प्रतियोगितामा अनुशासन उल्लंघन गर्ने खेलाडीहरूलाई जिल्ला तथा पालिकास्तरीय खेलहरूमा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ। प्रतियोगिताका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष शशिनाथ आचार्यले खेलमा अनुशासन कायम राख्न विशेष निगरानी गरिने जानकारी दिएका छन्।
उद्घाटनकै दिन जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल समेत आयोजना गरिने आयोजकले जनाएको छ।
यस वर्षको प्रतियोगितामा विजेता टिमले १,००,००० (एक लाख) नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिता शान्तिपूर्ण र निष्पक्ष होस् भन्ने उद्देश्यले गाउँपालिकाले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिएको छ। प्रतियोगिता अवधिभर सशस्त्र प्रहरी बलको उपस्थिति रहनेछ।