
सिन्धुपाल्चोक - करिब दुई वर्षको अन्तरालपछि इन्द्रावती गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुन लागेको छ। गाउँपालिकाले वैशाख २६ गतेदेखि सुरु हुने चौथो अध्यक्ष कपको तयारी अन्तिम चरणमा पुगेकाे जनाएको छ।
प्रतियोगिता इन्द्रावती रङ्गशालामा हुनेछ। विगतमा प्रतियोगिता विवादित बनेको स्मरण गर्दै यसपालि सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरिएको छ। त्यसैअनुसार गाउँपालिकाले सशस्त्र प्रहरी बललाई सुरक्षाको जिम्मा दिन मेलम्ची मा रहेको सशस्त्र प्रहरी बललाई पत्राचार गरिसकेको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवम् खेलकुद संयोजक शशिनाथ आचार्यले बताए । प्रतियोगितामा ११ ओटा वडा ले सहभागिता जनाउने भएका छन्।
२०७९ साल फागुनमा भएको तेस्रो अध्यक्ष कप प्रतियोगिता सेमिफाइनल चरणमै विवादित बनेको थियो। वडा नम्बर ९ र १० को खेलमा खेलाडी दर्तासम्बन्धी विवाद उत्पन्न भएपछि फाइनल खेल नै हुन सकेन। आयोजकले वडा नम्बर १२ लाई उपाधि प्रदान गरे पनि दोस्रो स्थानका लागि कुनै टिम छनोट गर्न सकेन। सो प्रतियोगिताको समापन कार्यक्रम समेत तनावपूर्ण बनेको थियो, जसमा मञ्चमा ढुङ्गा प्रहारसम्म भएको थियो। त्यस यता विवादले गाउँपालिकालाई प्रतियोगिता आयोजना गर्न हतोत्साहित बनाएको थियो। तर, अहिले करिब दुई वर्षपछि प्रतियोगिता पुनः सुरु गर्न लागिएको हो।
चौथो अध्यक्ष कपको विजेता टिमलाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यसपालि कुनै पनि प्रकारको विवाद नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको छ।