Harsamaya
मण्डलाको नयाँ नाट्य सिजन: ११ निर्देशकहरूले नाटक मञ्चन गर्ने, टिकटको मूल्य परिवर्तन
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - नेपाली रंगमञ्चमा सक्रिय संस्था मण्डला थिएटरले नाट्य सिजन २०८२/८३ को घोषणा गर्दै यस पटकको प्रस्तुति शैली, निर्देशक चयन र आर्थिक संरचनामा विशेष परिवर्तन गर्ने निर्णय गरेको छ। पछिल्लो सिजनको अनुभवलाई समेट्दै, यसपटक संस्था निर्देशक र कलाकारलाई विशेष प्राथमिकता दिने रणनीति सहित अघि बढेको छ।

गत वर्ष निर्देशन र लेखनलाई प्राथमिकतामा राख्दै सुरु गरिएको सहकार्य कार्यक्रमलाई निरन्तरता दिँदै, यस सिजनमा मण्डलाले ११ जना निर्देशकसँग सहकार्य गर्ने भएको अभिनेता दयाहाङ राईले जानकारी दिए । यसमध्ये पाँच जना पहिलेका सिजनमा काम गरिसकेका निर्देशक हुन् ।  ‘सोमनाथ खनाल, उमेश तामाङ, सुरज यादव, विकास जोशी र बुद्धि तामाङ जस्ता अनुभवयुक्त निर्देशकहरूसँगै यसपटक ६ नयाँ अनुहारहरू थपिएका छन्’,उनले भने,  ‘नयाँ अनुहारमा सरस्वती चौधरी, गुन्जन दीक्षित, समिता थापा मगर, सुदिप खतिवडा, सागर खाती कामी र सन्दिप श्रेष्ठ रहेका छन् ।’ यी नयाँ निर्देशकहरू मण्डलाकै पूर्व विद्यार्थीहरू हुन् । मण्डलाले नयाँ पुस्तालाई अवसर दिने नीति अब पनि यथावत् राखेको यसले संकेत गर्छ।

यस सिजनमा अनुप बराल र किरण चामलिङले पनि मण्डलासँगको सहकार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। निर्देशकहरूले नाटकका कथा र स्वरूप चाँडै सार्वजनिक गर्ने तयारी गरेका छन् । 

मण्डलाको यात्रामा चुनौतीहरू धेरै भएको राईले सुनाए । ‘पछिल्लो वर्ष प्राविधिक कारणले दुई निर्देशकसँग सहकार्य हुन सके, थिएटर स्पेसको भाडा वृद्धिले आर्थिक भार थपिएको छ। यो वर्ष मात्रै दुई पटक भाडा बढिसक्यो’, राईले भने ‘आर्थिक रूपमा थिएटरलाई भार नपरोस् भनेर टिकट मूल्यमा फेरबदल गरिएको छ।’ अब एक नाटक चार हप्तासम्म मञ्चन हुनेछ, जहाँ पहिलो दुई हप्ताको टिकट दर पुरानै (विद्यार्थीको लागि तीन सय र अन्यका लागि पाँच सय) कायम रहनेछ। तर, तेस्रो र चौथो हप्तामा क्रमशः विद्यार्थीका लागि पाँच सय र अन्य दर्शकका लागि एक हजार तोकिएको छ।

मण्डलाका निर्देशक तथा सह-संस्थापक सोमराज खनालका अनुसार गत वर्षको दर्शकहरूको चाप हेर्ने हो भने मण्डलामा ११ हजार ७०८ जना दर्शकले नाटक हेरेका थिए। तीमध्ये ‘हरीहजुरबा’ नामक नाटकले सर्वाधिक लोकप्रियता कमाएको थियो । जसमा नाजिर हुसेन र विजय बरालको दमदार अभिनय रहेको थियो । यो नाटकले मात्र ४ हजार  २५९ दर्शक तानेर मण्डलाको आर्थिक संकट हटाएको थियो। तर, अन्य सामुदायिक नाटकहरू अपेक्षित दर्शक नपाउँदै घाटामा गएको खनालले बताए । ‘जस्तै: प्रसिद्ध नाटककार बालकृष्ण समको नाटक हेर्न जम्मा १ हजार ६९१ मात्र दर्शक पुगे’, खनालले भने ।

हाल काठमाडौंमा अनुमानित ३ हजार देखि ३ हजार २०० रंगकर्मी भए पनि मञ्चनमा दर्शकको न्यून सहभागिताले मण्डला रंगमञ्चको भविष्य भोलिका दिनमा के होला प्रश्न उब्जिएको छ । मण्डलालाई जीवन्त राख्न विभिन्न प्रयास भएका छन् ।  त्यसैले यस सिजनमा प्रस्तुत हुने नाटकहरूलाई ‘हजार रुपैयाँ बराबरको अनुभव दिने’ भनेर मण्डलाले निर्देशक, कलाकार र प्राविधिक टोलीलाई थप जिम्मेवारी दिएको पनि राईले सुनाए । 

यो नयाँ मोडेल र सहकार्यको ढाँचा मण्डलाको दीर्घकालीन दिगोपनतर्फको यात्रा हो। दर्शकहरू, विद्यार्थीहरू र रंगमञ्चप्रेमीहरूले यस सिजनलाई कसरी साथ दिन्छन् भन्ने कुराले मण्डलाको भविष्यलाई ठूलो असर पार्नेछ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update