काठमाडौं - नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले कलाकारहरूलाई लक्षित गरी भइरहेको नियोजित चरित्र हत्या र अपराधीकरणको प्रयासप्रति आपत्ति जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष केपी पाठकले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा केही राजनीतिक दल र केही व्यक्तिहरूबाट भइरहेको कलाकारहरूको सम्मानमाथिको प्रहार र हुर्मत लिने कार्य तुरुन्त बन्द गर्न आग्रह गरेका हुन् ।
नेपालको सामाजिक रूपान्तरणमा कलाकारहरूको उपस्थिति र भूमिकाले ऐतिहासिक रूपमा निर्णायक प्रभाव पार्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
‘सामाजिक सञ्जाल र केही राजनीतिक मञ्चहरूबाट कलाकारहरूलाई सामाजिक बहिष्कारको धम्की दिने, झुटो दोषारोपण गर्ने र अभद्र भाषा प्रयोग गरी नियोजित रूपमा बदनाम गर्ने कार्यको घोर निन्दा र भर्त्सना गर्दछौं । यो प्रवृत्ति लोकतान्त्रिक मूल्य र सांस्कृतिक स्वतन्त्रतामाथिको सिधा प्रहार हो । यदि सामाजिक सरोकारका बारेमा बोल्नु वा आन्दोलनमा सहभागी हुनु नै अपराध हो भने, अहिलेसम्मका सम्पूर्ण लोकतान्त्रिक आन्दोलनहरूमा सहभागी हुने नागरिक र नेतृत्वकर्ताहरू के अपराधी ठहरिनेछन्’ , विज्ञप्तिमा भनिएको छ ।
जेन–जी आन्दोलनलाई समर्थन र सहयोग गरेका कलाकारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । निश्चल बस्नेत, स्वस्तिमा खड्का, दीपकराज गिरीलगायतका कलाकारहरू जेन–जी आन्दोलनमा सहभागी भएको तस्वीर र भिडियो शेयर गर्दै आलोचना भइरहेको छ । यसै सन्दर्भमा प्रतिष्ठानले कलाकारहरूको सामाजिक सहभागितालाई अपराधीकरण गर्ने प्रयास गलत रहेको र यसले लोकतन्त्रको जगमाथि नै प्रहार गर्ने जनाएको छ ।
केही दिनदेखि भइरहेको आलोचनाप्रति कलाकारले पनि जवाफ दिएका छन् । तर, आलोचना रोकिएको भने छैन ।
प्रेस विज्ञप्ति
विषयः कलाकारहरूलाई लक्षित गरी भइरहेको नियोजित चरित्र हत्या र अपराधीकरणको प्रयासका
सम्बन्धमा ।
नेपालको सामाजिक रूपान्तरणमा कलाकारहरूको उपस्थिति र भूमिकाले ऐतिहासिक रूपमा निर्णायक प्रभाव पार्दै आएको छ । २०३६ सालको आन्दोलन देखी २०६२/६३ को जनआन्दोलनसम्म, कलाकारहरूले सदैव सामाजिक चेतना र परिवर्तनका आवाजलाई मुखरित गरेका छन् । त्यसैले, आजका कलाकारहरू सामाजिक आन्दोलनमा उभिनु इतिहासको निरन्तरता र लोकतान्त्रिक जिम्मेवारीको अभिव्यक्ति हो । कुनै अपराध होइन ।
हालका दिनहरूमा चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारहरू माथि जेन–जी आन्दोलनमा भएको उहाँहरूको सामाजिक अभिव्यक्ति र भौतिक उपस्थितिका आधारमा सुनियोजित रूपमा चरित्र हत्या गर्ने र अपराधीकरण गर्ने प्रयास भइरहेको प्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जाल र केही राजनीतिक मञ्चहरूबाट कलाकारहरूलाई सामाजिक बहिष्कारको धम्की दिने, झुटो दोषारोपण गर्ने र अभद्र भाषा प्रयोग गरी नियोजित रूपमा बदनाम गर्ने कार्यको घोर निन्दा र भर्त्सना गर्दछौं । यो प्रवृत्ति लोकतान्त्रिक मूल्य र सांस्कृतिक स्वतन्त्रतामाथिको सिधा प्रहार हो । यदि सामाजिक सरोकारका बारेमा बोल्नु वा आन्दोलनमा सहभागी हुनु नै अपराध हो भने, अहिलेसम्मका सम्पूर्ण लोकतान्त्रिक आन्दोलनहरूमा सहभागी हुने नागरिक र नेतृत्वकर्ताहरू के अपराधी ठहरिनेछन् ? कलाकारहरूको सामाजिक सहभागितालाई अपराधीकरण गर्ने यो प्रयास गलत छ र यसले लोकतन्त्रको जगमाथि नै प्रहार गर्दछ । प्रदर्शनका क्रममा भएको क्षति वा घटनाको विषयमा छानबिन आयोग गठन भइसकेको सन्दर्भमा, आयोगको प्रतिवेदन आउनुअघि नै कलाकारहरू माथि गरिएको दोषारोपण र चरित्र हत्या कानुनी प्रक्रियाको अपमान र मानहानि पनि हो । न्यायिक निष्कर्ष नआई कुनै व्यक्तिलाई अपराधी ठहर्याउनु लोकतान्त्रिक न्यायसंस्कारको गम्भीर उल्लङ्घन हो ।
सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा केही राजनीतिक दल र केही व्यक्तिहरूबाट भइरहेको कलाकारहरूको सम्मानमाथिको प्रहार र हुर्मत लिने कार्य तुरुन्त बन्द गरियोस् । सरोकारवाला निकायहरूले साइबर कानुनको प्रभावकारी कार्यान्वयन गरी यस्ता दुष्प्रचार रोक्न तत्काल हस्तक्षेपकारी भुमिका खेलुन् ।
कलाकारहरूलाई अनावश्यक पीडा दिन र सामाजिक सरोकारका विषयमा बोल्नबाट वञ्चित गर्ने कुनै पनि किसिमको नियन्त्रणको प्रयास बन्द गरियोस् ।
सामाजिक सरोकारका विषयमा बोल्नु अपराध होइन; सचेत नागरिकताको दायित्व र अनिवार्य अभ्यास हो । कलाकारहरू राष्ट्रको संवेदना र सामूहिक स्वर हुन् । उनीहरुका आवाजलाई कुनै पनि बहानामा बन्द गराउने अभ्यास कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।
आफू अनुकूल बोल्दा सहि र प्रतिकुल बोल्दा गलत मान्ने परिपाटीको निन्दा गर्दै कानुनी उपचारको बाटोमा लाग्न र पेशागत ऐक्यवद्धता जनाउन सम्पूर्ण चलचित्रसँग सम्बन्धित संघ संस्थाहरूलाई आह्वन पनि गर्दछौँ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान सम्पूर्ण कलाकर्मीहरूको पक्षमा दृढ रूपमा ऐक्यबद्ध छ । राज्य कानुनी मूल्यहरू प्रति निष्ठावान रह्यो भने, कला र अभिव्यक्ति स्वतन्त्रताको गला पटक पटक निमोठिने छैन र लोकतन्त्र अझै बलियो र समुन्नत बन्दै जानेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
के पी पाठक
अध्यक्ष
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान

