
पर्सा - जिल्ला प्रशासन कार्यालय पर्साले विवाह, व्रतबन्धलगायतका सांस्कृतिक तथा धार्मिक कार्यक्रममा अत्याधिक आवाजमा बजाइने डिजे, आतिशबाजी र पटाकाका कारण सर्वसाधारणको दैनिकी तथा जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको भन्दै कडा प्रतिबन्धात्मक निर्णय सार्वजनिक गरेको छ।
२०७९ वैशाख १७ गते सरोकारवाला निकायहरूसँगको छलफलपछि सार्वजनिक गरिएको अत्यन्त जरुरी सूचनामा राति १० बजेपछि डिजे को प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ। यसका साथै समाजमा त्रास सिर्जना हुने गरी पटाका पड्काउने र आतिशबाजी गर्ने कार्यहरूमा पनि पूर्ण प्रतिबन्ध लगाइएको हो।
प्रशासनले होटल तथा पार्टी प्यालेसहरूलाई डिजे तथा पटाकाको प्रयोग नगर्ने शर्तसहित मात्र बुकिङ सुनिश्चित गर्न निर्देशन दिएको छ। यस्तै, सीमावर्ती क्षेत्रबाट आउने उपकरण तथा पटाकाको नियमन गर्न समेत कडा निगरानीको व्यवस्था हुने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शान्त, सभ्य र सुसंस्कृत संस्कार र संस्कृतिलाई संरक्षण गर्न सकिने उल्लेख गर्दै सबै सरोकारवालालाई सहकार्यको लागि हार्दिक अपिल गरेका छन्।