Harsamaya
 म्याद गुज्रिएका चकलेट र अवैध पटाकासहित भारतीय नागरिक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - तिहारमा भाइटीकाको मसला बनाउन प्रयोग गर्न बिक्रीका लागि राखिएका म्याद गुज्रिएका चकलेट र अवैध पटाकासहित काठमाडौंमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–६ तिनचुली चोकस्थित एक घरमा डेरा गरी बस्ने भारतको मोतिहारी घर भएका २९ वर्षीय रमन कुमार पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक १६ गते दिउँसो करिब ३ बजे अवैध पटाका र म्याद गुज्रिएका भाइ मसलाका सामग्री बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनको डेरामा छापा मारेको थियो ।

प्रहरीले जाँच गर्ने क्रममा विभिन्न प्रकारका पटाकाजन्य विस्फोटक पदार्थ तथा म्याद गुज्रिएका खाद्य सामग्री फेला पारेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद सामग्रीमा झिरझिरेका विभिन्न ब्रान्डका १४ प्रकारका सामग्री, पटाकाका अन्य सामग्री, ९४० प्याकेट चकलेट, ४९० प्याकेट तिहार विशेष भाइ मसला र ३१५ प्याकेट भाइ मसला कचौरा रहेका छन् ।

त्यस्तै, एक किलो बिग्रिएको नरिवल र १० किलो चकलेटसमेत बरामद गरिएको छ ।

बरामद पटाका तथा खाद्य सामग्रीको गुणस्तर र वैधताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update