Harsamaya
सरकारी ठेक्काको आर्थिक प्रस्ताव हेरफेर गर्ने तीन जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काका आर्थिक प्रस्तावका विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी (e-Government Procurement) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै प्रस्तावसम्बन्धी कागजात परिवर्तन गर्ने कार्य भएको थियो ।

यस सम्बन्धमा ब्यूरोमा प्राप्त निवेदनमाथि अनुसन्धान गर्दा संलग्न व्यक्तिहरूको पहिचान खुलेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो ।

प्रहरी टोलीले २०८३ कात्तिक १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update