पर्सा - वीरगन्ज महानगरपालिका–२५ स्थित सिर्सिया चेकपोस्टबाट २७.७० तोला चाँदीका विभिन्न सामानसहित दुई जना पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले कात्तिक १७ गते बिहान १० बजे चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार BR 05 BK 4417 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चाँदीका विभिन्न सामान फेला परेका थिए । इलाका प्रहरी कार्यालय छप्कैयाबाट प्रहरी सहायक निरीक्षक भोगेन्द्र खत्रीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बारा जिल्लाको करैयामाई गाउँपालिका–८ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ नगवा बस्ने अन्दाजी ३६ वर्षीय रामप्रकाश सराफ र बाराको गढीमाई गाउँपालिका–५ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ बस्ने अन्दाजी ३९ वर्षीय कृष्ण सहनी रहेका छन् ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरू तथा बरामद चाँदीका सामानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

