
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा.बबी सिंह यादवको एउटा भिडियो भाइरल भएपछि उनले गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् । उनी पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो भाइरल भएपछि उनले एक विज्ञप्ति जारी गर्दै आफन्तको वैवाहिक समारोहमा नृत्य गर्दै ‘रेन्जर टोइ’नामक खेलौनाले फायर गरेको उल्लेख गरिएको छन् ।
‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु’, उनले विज्ञप्तिमा भनेकी छिन् ।
उनले अगाडि भनेकी छिन्, ‘मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एक छिन भाइबहिनी र परिवारका सदस्यहरूसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै तथाकथित ‘युट्युब पत्रकार’ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म घोर भर्त्सना गर्दछु ।’
‘महिलाले एक छिन नृत्य गर्दा वा रमाइलो गर्दा आकाश नै खसेकोजस्तो सोच्ने पितृसत्तात्मक मानसिकताप्रति म गहिरो खेद प्रकट गर्दछु’,उनले भनेकी छिन् ।
<>