Harsamaya
भ्रामक समाचार र आरोपको खण्डन गर्दै गगन थापाको सचिवालयले भन्यो : निष्पक्ष अनुसन्धानबाट पछि हट्दैनौँ
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ।

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले पार्टी र नेतृत्वलाई जोडेर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार र आरोपप्रति आपत्ति जनाएको छ। सचिवालयले ती समाचार र आरोपलाई भ्रामक, तथ्यहीन र कपोलकल्पित भन्दै अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न आग्रह गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै सचिवालयले सरकारका पछिल्ला गतिविधिबाट विषयान्तर गर्न प्रतिपक्षी दल नेपाली कांग्रेसविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाइएको दाबी गरेको हो।

विज्ञप्तिमा कांग्रेसले पार्टी विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसको नेतृत्व र निर्णयको आधिकारिकता निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भइसकेको उल्लेख गरिएको छ। सर्वोच्च अदालतको आदेशसमेतका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले उक्त विषयलाई थप संस्थागत गरेको सचिवालयको दाबी छ।

सरकारले लोकतन्त्र, नागरिक स्वतन्त्रता र विधिको शासनविपरीत गतिविधि गर्दा कांग्रेसले त्यसको विरोध गर्ने र त्यस्तो अवस्थामा पार्टीविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास हुने गरेको सचिवालयको भनाइ छ। लोकतन्त्र, सुशासन र जनसरोकारका विषयमा सरकारका सकारात्मक काममा साथ दिने तर नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण र संवैधानिक सर्वोच्चताविरुद्धका गतिविधिको प्रतिवाद गर्ने विज्ञप्तिमा उल्लेख छ।

सचिवालयले बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष तथा प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने सभापति गगन थापाको धारणा पनि दोहोर्‍याएको छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने र यसमा सरकारलाई कांग्रेसको पूर्ण साथ रहने जनाएको छ।

तर अनुसन्धानको निष्पक्षतामाथि भने सचिवालयले प्रश्न उठाएको छ। अनुसन्धानमा संलग्न निकायको छापसहितका तथ्य तथा कथित बयानहरू छानिछानी सार्वजनिक हुनुले केही प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भएको हुन सक्ने आशङ्का उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।

सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विवरणले अनुसन्धान चयनात्मक ढङ्गले अघि बढेको हो कि भन्ने प्रश्न उठाएको भन्दै सचिवालयले अनुसन्धानमा संलग्न निकायभित्रकै व्यक्तिहरूको संलग्नताबारे आएका विषयलाई समेत गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ। समग्र अनुसन्धान प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने उसको माग छ।

कांग्रेस कुनै पनि प्रकारको निष्पक्ष अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै सचिवालयले अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ। निष्पक्ष छानबिनका लागि पार्टीको संसदीय दलले निर्णयसमेत गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

सचिवालयले सम्बन्धित सबै पक्षलाई प्रमाण र तथ्यका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न तथा आमनागरिकलाई अपुष्ट सूचनाका आधारमा धारणा नबनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update