काठमाडौं - मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
नेपाल सरकारबाट निर्धारण गरिएको स्वास्थ्य परीक्षण शुल्कबाहेक म्याक्रोटेक प्रालिका नाममा ‘बायो–मेडिकल सर्भिस चार्ज’ उल्लेख गरी अतिरिक्त रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका–३ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–११ महादेवटार बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ४५ वर्षीय रामपुकार तिवारी रहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो। प्रहरीका अनुसार प्रतिवादीहरूले मलेसियामा वैदेशिक रोजगारीमा जान स्वास्थ्य परीक्षण गराउने श्रमिकबाट निर्धारित शुल्कबाहेक अतिरिक्त रकम संगठित रूपमा सङ्कलन गरी आर्थिक लाभ लिएको आरोप छ। यसबाट श्रमिकलाई आर्थिक हानि पुर्याएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनासँग सम्बन्धित अन्य पीडितलाई पनि प्रमाणसहित यथाशीघ्र सम्बन्धित ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई उजुरी तथा जाहेरी दिन प्रहरीले अनुरोध गरेको छ।

