सर्लाही - सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले हरिवन नगरपालिका–४ तिनघरेबाट उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार असोज २८ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवन र लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ३२ वर्षीय सागर पासवान र २५ वर्षीय राजु भुजेल रहेका छन्। उनीहरू ब्राउन सुगर बिक्री वितरण गर्दै हिँडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले सागर पासवानको साथबाट प्लास्टिकसहित ९.९३ ग्राम ब्राउन सुगर र उनको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको प्लास्टिकसहित १६.२० ग्राम गरी जम्मा २५.३३ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। त्यसैगरी, प्लास्टिकबाहेक २३.३१ ग्राम लागुऔषध ब्राउन सुगर र मोबाइल थान–२ समेत बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी इलाका प्रहरी कार्यालय हरिवनबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

