Harsamaya
ठगी मुद्दाका फरार प्रतिवादी दाङबाट पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

दाङ -  ठगी मुद्दामा फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–२ पचहियाका ६० वर्षीय सहजराम अहिर, बाँकेको डुडुवा गाउँपालिका–५ बलापुरका २४ वर्षीय अरविन्दकुमार यादव र नेपालगञ्ज उपमहानगरपालिका–११ का ३९ वर्षीय कासीराम बुढाथोकी रहेका छन् ।

प्रहरीका अनुसार अरविन्दकुमार यादवले आफूलाई कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश, तुलसीपुर शाखा कार्यालयको प्रशासनिक अधिकृत बताउँदै कृषि कार्यक्रममार्फत ट्याङ्कर, भैँसीपालन तथा गोठ सुधारको कार्यक्रम दिलाइदिने प्रलोभन देखाएका थिए । उनले मासिक किस्तामा साइन फोन पेय र मालिका कन्स्ट्रक्सनको ई–सेवा सञ्चालन गर्ने भन्दै ठगी गरेको आरोप छ ।

उक्त प्रकरणमा कासीराम बुढाथोकीसमेतको संलग्नतामा ११ लाख ५४ हजार ६३२ रुपैयाँ ठगी गरेको जाहेरीका आधारमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

ठगीपछि फरार रहेका उनीहरूलाई प्रहरीले असोज २५ गते पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई दाङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update