Harsamaya
तनहुँमा बोलेरो जिप दुर्घटना हुँदा महिलाको मृत्यु, ६ जना घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सोमबार साँझ ५:४५ बजे बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा ब्याक भएर सडकको किनारबाट करिब ७ मिटर तल नालीमा खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा जिपमा सवार आठ जनामध्ये सात जना घाइते भएका थिए । घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङलाई उपचारका क्रममा साँझ ६:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा सोही ठाउँका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन् । उनीहरू सबैको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि प्रहरीले जिप चालक आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update