Harsamaya
केवाईसी अद्यावधिक गर्ने बहानामा ४९ लाख ८७ हजार ठगी, तीन जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

रौतहट - अनलाइन माध्यमबाट बैंक तथा ई–सेवाको कर्मचारी भएको भन्दै ग्राहकलाई केवाईसी अद्यावधिक गर्ने बहानामा ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीले असोज २३ गते अपराह्न करिब ४ बजे गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नम्बर ५ को कोईरी टोलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्लाको बैरगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मो. साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्ने गरेका थिए । त्यसक्रममा केवाईसी अद्यावधिक गर्नुपर्ने बहाना बनाई सेवाग्राहीलाई मोबाइलको पर्दा साझा गर्न लगाउने र एकपटक प्रयोग हुने गोप्य सङ्केत (ओटीपी) लगायतका बैंकिङ विवरण प्राप्त गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि सेवाग्राहीको बैंक खाता तथा विद्युतीय भुक्तानी खाताबाट रकम अनधिकृत रूपमा स्थानान्तरण गरी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । हालसम्मको अनुसन्धानमा उनीहरूले ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी गरेको खुलेको छ ।

पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरिएको छ । त्यस्तै, सात थान मोबाइल फोन, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थाका ३० थान जम्मा भौचर, तीन थान एटीएम कार्ड र दुई थान चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद चेकमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँको र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक रहेका छन् । प्रहरीले चेकबुक, डायरी, कापी, पेनड्राइभ, मेमोरी कार्ड तथा बैंकिङ विवरण लेखिएका पर्चालगायतका सामग्रीसमेत बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update