काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय उपसभापतिम र महामन्त्री पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ । उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र डा. डिला संग्रौला निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले असोज २५ गते सार्वजनिक गरेको मतपरिणामअनुसार खुला उपसभापतिमा डा. भण्डारीले ३ हजार ७३५ मत प्राप्त गरे भने मधु आचार्यले २ हजार ३४२ मत पाए । यसैगरी खुला उपसभापतिका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे ।
समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् । उनले १ हजार ७४५ मत प्राप्त गरे । उक्त पदमा जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए ।
त्यस्तै, खुला महामन्त्रीमा प्रदीप पौडेल सर्वाधिक ४ हजार १९४ मतसहित निर्वाचित भएका छन् । अर्का निर्वाचित महामन्त्री उदयशमशेर राणाले २ हजार ३१० मत प्राप्त गरेका छन् । खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३, डा. सन्तोष उपाध्यायले ९७ र डा. सुनिलकुमार शर्माले २२५७ मत प्राप्त गरेको विवरणमा उल्लेख छ ।
महिला महामन्त्रीमा डा. डिला संग्रौला निर्वाचित भएकी छन् । उनले ३ हजार ११८ मत प्राप्त गरिन् । उक्त पदमा महालक्ष्मी उपाध्याय ‘डिना’ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि असोज २३ गते मतदान भएको थियो । केन्द्रीय कार्यालयमा मतगणना गरी निर्वाचन समितिले असोज २५ गते उपसभापति र महामन्त्री पदको परिणाम सार्वजनिक गरेको हो । अध्यक्षको मत परिणाम आइसकेकोछ भने वरिष्ठ उपसभापति र महिला उपसभापति निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य पदको मतगणना जारी छ ।

