Harsamaya
कांग्रेसको इतिहासमै पहिलो महिला महामन्त्री बनिन् डिला, यस्तो छ राजनीतिक यात्रा
डा. डिला संग्रौला ।

काठमाडौं - नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीका रूपमा डा. डिला संग्रौला निर्वाचित भएकी छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला क्लस्टरतर्फ महामन्त्री पदमा संग्रौला ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत प्राप्त गरिन् ।

संग्रौलाको राजनीतिक यात्रा २०३९ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो । विद्यालय तथा कलेजस्तरको विद्यार्थी आन्दोलनमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेकी उनले लामो समय विद्यार्थी र महिला अधिकारका क्षेत्रमा काम गरेकी छन् ।

कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको केन्द्रीय अध्यक्षका रूपमा उनले २०६८ देखि २०७३ सालसम्म नेतृत्व गरिन् । महिला संघको नेतृत्वमा रहँदा महिला संगठनलाई देशव्यापी रूपमा विस्तार र सुदृढ बनाउन उनले भूमिका निर्वाह गरेकी थिइन् ।

संग्रौला संसदीय राजनीतिमा पनि सक्रिय रहँदै आएकी छन् । उनी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् भने पार्टीको छाया सरकारमा श्रम राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी उनी त्यसपछि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन् । पार्टीभित्र संगठनात्मक जिम्मेवारी सम्हाल्दै आएकी संग्रौलाले १५औँ महाधिवेशनमा महिला क्लस्टरतर्फ महामन्त्री पदमा प्रतिस्पर्धा गरेकी हुन् ।

यसपटक कांग्रेसले विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार भएको निर्वाचनमा विजयी हुँदै संग्रौला पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री बनेकी हुन् ।

उनको विजयलाई कांग्रेसको नेतृत्व तहमा महिलाको प्रतिनिधित्व विस्तारका रूपमा हेरिएको छ । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा महिला संगठनको नेतृत्व, संसदीय भूमिका र पार्टीको केन्द्रीय पदाधिकारी हुँदै महामन्त्रीसम्म पुगेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update