काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि गुरुराज घिमिरेले आफ्नो राजनीतिक यात्रा नयाँ शिराबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महामन्त्री पदको निर्वाचनमा १ हजार ५१३ मत प्राप्त गरेका घिमिरेले आफूलाई विश्वास गरी मत दिने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् । उनले प्राप्त मतलाई सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा भएको बताएका छन् ।
घिमिरेले पार्टीका विभिन्न पदमा निर्वाचित भएका सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
उनले पार्टीभित्र हार्दिकता र एकता अभिवृद्धि गर्न, मूल्याङ्कन पद्धति तथा निर्णय प्रक्रियालाई वस्तुनिष्ठ र पारदर्शी बनाउन तथा पार्टीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । आगामी दुवै तहका निर्वाचनमा कांग्रेसले विजय हासिल गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।
‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो। म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ घिमिरेले भनेका छन् ।
अबको राजनीति फरक सोच, शैली र संस्कारसहित अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरणलाई प्रमुख आधार बनाउने बताएका छन् ।
‘यो अन्त्य होइन, नयाँ सुरुवात हो,’ घिमिरेले भनेका छन्, ‘नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहनेछु।’

