Harsamaya
हिमालदेखि तराईसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - देशका अधिकांश भूभागमा आज मौसम बदली रहनेछ। केही स्थानमा मेघगर्जनसहित वर्षा, हावाहुरी र असिनाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्नेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्न सक्ने सम्भावना रहेको छ।

राति हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update