काठमाडौं - दसैँको समयमा यात्रुको आवागमन सहज बनाउन घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला गरिने भएको छ।
यातायात व्यवस्था विभागमा आज नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत सरोकारवालाबीच बसेको बैठकले दसैँ अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो।
बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।
उनका अनुसार सडकको अवस्थालाई ध्यानमा राखेर सवारी सञ्चालन गर्दा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि मात्रै अन्य सवारीसाधनलाई प्राथमिकता दिइनेछ।
दसैँमा राजधानीलगायत सहरी क्षेत्रबाट ठूलो सङ्ख्यामा यात्रु गाउँघर फर्किने भएकाले यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन सरोकारवाला निकायबीच समन्वय गरी आवश्यक तयारी अघि बढाइएको विभागले जनाएको छ।
यात्रुले टिकट पाउन समस्या नहोस्, अनावश्यक दुःख नपाऊन् र सुरक्षित रूपमा गन्तव्यमा पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी थालिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।
दसैँका समयमा बढ्ने यात्रुको चापलाई ध्यानमा राख्दै सवारी सञ्चालन, टिकट व्यवस्थापन, सडकको अवस्था र यात्रुको सुरक्षामा विशेष ध्यान दिइने विभागले जनाएको छ।

