मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिका–६ धानगोदामस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा कारको ठक्करपछि दुई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा बा.प्र.०२–०१८ प ०४५९ नम्बरको मोटरसाइकल चालक करिब २५ वर्षीय महेश्वर घिमिरे खत्रीको मृत्यु भएको हो। घाइते अवस्थामा उपचारका लागि हेटौँडा अस्पताल लगिएका उनलाई चिकित्सकले दिउँसो ४ः१० बजे मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.१२ च ४१६४ नम्बरको कारले काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो।
कारको ठक्करपछि पछाडिबाट आउँदै गरेको बा.५४ प २५६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बायाँतर्फको नालीमा खसेको थियो। उक्त मोटरसाइकलमा सवार भारत घर भई हाल काठमाडौँ महानगरपालिका–२८ माइतीघरमा डेरा गरी बस्ने ३२ वर्षीय मुन्ना आलाम र ३१ वर्षीय चुन्नु आलम घाइते भएका छन्।
उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

