काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि शिवबहादुर सुनारले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
सुनारले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै दलित खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको जानकारी दिएका हुन्।
सुनार नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्वउपसभापतिसमेत हुन्। पार्टीको संगठनमा लामो समयदेखि सक्रिय उनी यसअघि पनि कांग्रेसको केन्द्रीय सदस्य रहिसकेका छन्।
१५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उनी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज विभिन्न पदका लागि इच्छुक उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ। उम्मेदवारीमाथि दाबी–विरोध तथा नाम फिर्ताको प्रक्रिया भोलि हुनेछ भने असोज २२ गते निर्वाचन हुने कार्यक्रम रहेको छ।

