पोखरा - पोखराको फेवातालमा फसेका सात जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ भने बेगनास तालमा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला पारेको छ।
असोज १७ गते साँझ अचानक आएको हावाहुरी र पानीका कारण चितवनबाट घुम्न आएका सात जना आन्तरिक पर्यटक सवार प्याडल बोट डुंगा बाँध्ने डोरीको जालोमा परेपछि फेवातालमा अलपत्र परेका थिए।
घटनाको खबर पाएलगत्तै फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट खटिएको सशस्त्र प्रहरी टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।
यस्तै, पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सल्यान घर भई हाल पोखरा–१४ खसीबजार बस्ने २५ वर्षीय नरेश विकको शव गोताखोरले फेला पारेको छ।
असोज १७ गते साँझ डुबेर बेपत्ता भएका विकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन तालिम प्राप्त टोली परिचालन गरिएको थियो।
खोजीका क्रममा तालको करिब २५ फिट गहिराइबाट शव फेला पारिएको हो। शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

