Harsamaya
चोरीको सुनका गहना खरिद गरेको आरोपमा सुनचाँदी पसलका दुई सञ्चालक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रामेछाप - चोरी गरेको सुनका गहना खरिद गरेको आरोपमा रामेछाप प्रहरीले सुनचाँदी पसलका दुई सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका–१ स्थित दिप लक्ष्मी सुनचाँदी पसलका सञ्चालक ३३ वर्षीय डिलबहादुर रसाइली र सोही स्थानको सुविना सुनचाँदी पसलकी सञ्चालक २८ वर्षीया निशा विश्वकर्मा रहेका छन्।

प्रहरीका अनुसार अस्मिता श्रेष्ठ माझीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी मैया कार्कीसमेत भएको चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा मैया कार्कीले बयानमा आफूले चोरी गरेको सुनका गहना पक्राउ परेका व्यक्तिहरूले सञ्चालन गरेका पसलमा बिक्री गरेको बताएकी थिइन्।

त्यसपछि पीडितबाट कानुनबमोजिम जाहेरी प्राप्त गरी प्रहरीले खोजतलास गर्ने क्रममा दुवै जनालाई शुक्रबार मन्थली नगरपालिका–१ कटहरबोटबाट पक्राउ गरेको हो।

प्रहरीले डिलबहादुर रसाइलीले सञ्चालन गरेको दिप लक्ष्मी सुनचाँदी पसलबाट पीडितको कानबाट मैया कार्कीले झिकेको ४२ लाल २ प्वाइन्ट तौलको सुनको दुई थान रिङसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update