सिन्धुपाल्चोक - भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रानको जोखिम बढेपछि सिन्धुपाल्चोक जिल्लाका सबै राजमार्ग तथा सडकमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बुधबार सूचना जारी गर्दै असोज ८ गतेदेखि असोज १० गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका सबै राजमार्ग तथा सडकमा सवारी आवागमन बन्द रहने जनाएको हो।
नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिनअनुसार असोज ८ देखि ११ गतेसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
सिन्धुपाल्चोकका सबै स्थानमा भारी वर्षाको सम्भावना रहेको र त्यसबाट बाढी, पहिरो तथा गेग्रानको जोखिम उच्च रहेको आकलनपछि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयले आपत्कालीन अवस्था परेमा मौसम विज्ञान विभागको हटलाइन ११५५, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

