Harsamaya
कुलेखानी ड्यामको पानी बढेपछि तीन तहको साइरन बजाइने, खोला किनारमा जान प्रतिबन्ध
कुलेखानी जलाशय ।

मकवानपुर - कुलेखानी जलाशयमा वर्षाका कारण पानीको सतह बढेपछि ड्यामको सुरक्षाका लागि तीन तहमा साइरन बजाएर पूर्वसूचना दिने व्यवस्था गरिएको छ।

इन्द्रसरोवर गाउँपालिकाले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै कुलेखानी जलाशयको पानीको सतह बढेर स्पिलवे गेट खोल्नुपर्ने अवस्था आएमा ड्यामको तल्लो तटीय क्षेत्र तथा खोला र नदी किनार आसपासका बासिन्दालाई साइरनमार्फत पूर्वचेतावनी दिइने जनाएको हो।

गाउँपालिकाका अनुसार एक पटक लामो साइरन बज्दा पहिलो चेतावनी हुनेछ। जलाशयमा पानी भरिन लागेको अवस्थामा बजाइने उक्त साइरन सुनेपछि खोला किनारामा जुनसुकै उद्देश्यले जान पूर्ण प्रतिबन्ध लगाइएको छ।

त्यस्तै, दुई पटक लगातार साइरन बज्दा दोस्रो चेतावनी मानिनेछ। जलाशयको पानीको सतह उच्चतम बिन्दुमा पुगेको अवस्थामा बजाइने उक्त साइरन सुनेपछि बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवतीलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकाले आग्रह गरेको छ। साथै पशुचौपायालाई समेत सुरक्षित स्थानमा लैजान भनिएको छ।

तीन पटक छोटो–छोटो अन्तरालमा साइरन बज्दा तेस्रो तथा अन्तिम अर्थात् आपत्कालीन चेतावनी मानिनेछ। बाँधका मुख्य ढोका खोलिएको र नदीको सतहमा उच्च वृद्धि हुन सक्ने अवस्थामा उक्त साइरन बजाइने गाउँपालिकाले जनाएको छ।

त्यस्तो अवस्थामा तत्काल खोला किनार तथा गहिरो भाग छाडेर अग्लो र सुरक्षित स्थानमा जान गाउँपालिकाले आग्रह गरेको छ। साथै देउराली–कुलेखानी–सिस्नेरी सडकखण्डमा आवतजावत नगर्न तथा उक्त सडक प्रयोग गर्नुपर्ने अवस्थामा समेत विशेष सावधानी र सतर्कता अपनाउन अनुरोध गरिएको छ।

गाउँपालिकाले कुलेखानी जलाशयको अवस्था र साइरनको सङ्केतअनुसार तोकिएका सुरक्षाका उपाय अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update