काठमाडौं - नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा बिहीबार साँझ आयोजित एक कार्यक्रमका बीच उनले पदभार सम्हालेका हुन् ।
पदभार ग्रहणपछि मन्त्रालयका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री साहले मन्त्रालयका विगतका काम र अनुभवहरूको समीक्षा गरेर मात्र नयाँ कार्यक्रमहरू तय गर्ने बताए । कुनै पनि नयाँ योजना सुरु गर्नुअघि विगतमा के–कस्ता कामहरू भए भन्ने जानकारी लिनु सान्दर्भिक हुने उनको भनाइ थियो ।
मन्त्री साहले निवर्तमान मन्त्रीसँग बसेर मन्त्रालयका नीति तथा कार्यक्रमबारे घनीभूत छलफल गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारे ।
‘कुनै पनि काम गर्नुअघि विगतमा के–के भइसकेका छन्, त्यसको जानकारी लिएर अघि बढ्दा काम गर्न सहज हुन्छ,’ मन्त्री साहले भने, ‘त्यसैले मन्त्रालयका सचिवज्यूलाई पूर्वमन्त्रीज्यूसँग भेटघाटको वातावरण मिलाउन आग्रह गरेको छु। उहाँसँग दुई–चार घण्टा बसेर घनीभूत छलफल गरेपछि मात्र हामी नयाँ कार्यक्रमहरू अगाडि बढाउनेछौँ।’
जनताको आवश्यकता र चाहना पूरा गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहने मन्त्री साहले उल्लेख गरे । उनले ‘राष्ट्र पहिलो’ भन्ने मूल मर्मका साथ मन्त्रालयको काम–कारबाहीलाई प्रभावकारी बनाइने बताए ।
मन्त्री साहले मन्त्रालयका सचिव तथा सम्पूर्ण कर्मचारीहरूलाई सम्मान व्यक्त गर्दै आगामी दिनमा सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । साथै, उनले आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ४ का मतदाता, देशभरिका सम्पूर्ण नागरिक, पार्टी नेतृत्व तथा सम्माननीय प्रधानमन्त्रीप्रति धन्यवाद एवं आभार व्यक्त गरे ।

