Harsamaya
किराना पसललाई तीन लाख जरिवाना,  मूल्य बढी लिने सुगम ग्यासलाई २० हजार जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा फर्ममा अनुगमन गरी १० वटा फर्मलाई जरिवाना गरेको छ।

विभागले बिहीबार गरेको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको जनाएको छ।

अनुगमनका क्रममा अनील किराना पसल, कागेश्वरी मनोहरा–६, चखडोललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। यस्तै, सरकारले तोकेको दरभन्दा बढी मूल्यमा रु. २ हजार ६ सयमा सुगम ग्यास बिक्री गरेको भेटिएपछि एक फर्मलाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

अनुगमनमा अन्य फर्मलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ।

विभागका अनुसार हारती मिठाई एण्ड रेष्टुरेण्ट, आर स्टोर, तनिस्क विड्स शप, आयुष खाद्य पसल, मिठाई सागर, आदर्श पेन्टस् एण्ड केमिकल्स, साहित्य रत्न तुलाधर, सुन्दर पानी पुरी पसल, गर्जियस फेसन, मेगा मार्ट प्रा.लि. र मिलन फर्निचर सेन्टर लगायतका फर्ममा अनुगमन गरिएको थियो।

त्यसैगरी, श्री राम ग्यास स्टोर, मनोज ग्यास उद्योग प्रा.लि., श्री आकाश भैरव ग्याँस स्टोर, टिप टप स्वीट्स, सेभेन्टीन बिन्स क्याफे, पूर्णिमा खाजाघर, आकाश फुड्स, एसएस कस्मेटिक, प्रजापति खाद्य स्टोर, भाटभटेनी सुपरमार्केट, जय गणेश स्टोर लगायतका फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

अनुगमन गरिएका फर्ममध्ये काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा रहेका हार्डवेयर, खाद्य, कपडा, फर्निचर, ग्यास, होटल तथा रेष्टुरेण्टलगायत व्यवसाय रहेका छन्।

विभागले उपभोक्ता हित संरक्षण, बजारमा स्वच्छ व्यापारिक अभ्यास र जिम्मेवार व्यवसाय सञ्चालनका लागि नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  २०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update